गुल्मीमा पीसीआर मेसिनको वास्तविकता यस्तो, प्राविधिक र जनशक्तिको अभावले सञ्चालनमा ढिलाई ।

सागर भण्डारी गुल्मी । गुल्मीमा दशैँ अगावै पीसीआर ल्याव सञ्चालनमा आउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समितिमार्फत सदरमुकामको रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरेको लामो समय भएपनि सञ्चालनमा आउन नसक्दा चौतर्फी आलोचना सुरु भएको थि…

गुल्मीमा पीसीआर मेसिनको वास्तविकता यस्तो, प्राविधिक र जनशक्तिको अभावले सञ्चालनमा ढिलाई ।
सागर भण्डारी गुल्मी । गुल्मीमा दशैँ अगावै पीसीआर ल्याव सञ्चालनमा आउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समितिमार्फत सदरमुकामको रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरेको लामो समय भएपनि सञ्चालनमा आउन नसक्दा चौतर्फी आलोचना सुरु भएको थियो । जिल्लाका १२ वटै स्थानीय तहको आर्थिक सहयोगमा पीसीआर ल्याव सञ्चालन गर्नका लागि रेसुङ्गा नगरपालिकालाई व्यवस्थापकीय जिम्मेवारी दिईएको थियो । आवश्यक जनशक्ति, प्राविधिकहरुको अभावमा भनेकै समयमा ल्याव सञ्चालनमा ल्याउन नसकिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुषालले बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले उपलब्ध गराएको पीसीआर मेसिनमा केही प्राविधिक कुराहरु थप्नुपर्ने भएकाले अहिले मेसिनलाई प्राविधिकहरुकै सल्लाहमा काठमाण्डौ लगिएको र त्यही मेसिन सञ्चालनमा ल्याउने वा अर्को ल्याउने भन्ने विषयमा छलफल चलिरहेको बताउनुभयो । पीसीआर ल्याव सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति र प्रयोगशालाको समेत व्यवस्थापन हुँदै गरेको उहाँको भनाई छ । अहिले निर्माणाधिन प्रयोगशालाको कार्य पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । पीसीआर ल्याव सञ्चालनमा मात्रै आएर नहुने भन्दै उहाँले सक्रंमितहरुको उपचारकालागि आईसुलेसन र भेन्टिलेटरको समेत स्थापना गर्न लागिएकोे जानकारी दिनुभयो । कोरोना सक्रंमितको संख्या बढ्दै जाँदा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि भेन्टिलेटर र आईसीयुको समेत अभाव हुँदै जान थालेकाले गुल्मेलीहरुले त्यो समस्या भोग्न नपरोस भनेर १० वटा आईसीयु बेड र २ वटा भेन्टिलेटर सहितको अस्पताल स्थापनाका लागि अहिले जग्गा खोज्ने काम भईरहेको मेयर भुषालको भनाई छ । यता गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पीसीआर परिक्षणका लागि ल्याव स्थापना गर्न पीसीआर मेसिन मात्रै जडान गरेर नपुग्ने भएकाले केही समय ढिला भएको बताउनुभयो । पीसीआर मेसिन जिल्लामा आईसकेपछि प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै प्राविधिकहरुलाई बोलाएर आवश्यक परामर्श गर्दा परराष्ट्र मन्त्री ज्ञवालीले हस्तान्तरण गरेको मेसिनमा अन्य केही महत्वपूर्ण सामाग्रीहरु जडान गर्नुपर्ने भएकाले प्राविधिककै आग्रहमा काठमाण्डौ लगिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरत शर्माले गुल्मीमा आएको पीसीआर मेसिनको ब्राण्डकै अन्य केही सामाग्रीहरु जडान गर्नुपर्ने भएकाले प्राविधिकहरु लागिपरेको र सोही मेसिनमै मेसिनहरु थप गरेर हुन्छ अथवा नयाँ मेसिन ल्याउनुपर्ने भन्ने विषयमा पनि छलफल भईरहेको बताउनुभयो । प्राविधिक ज्ञान नहुँदा केही समय ढिलाई भएपनि प्रयोगशाला निर्माण र आवश्यक जनशक्तिको व्यवस्थापन हुँदै गरेकाले दशैँ अगावै पीसीआर ल्याव सञ्चालनमा आउने उहाँले बताउनुभयो ।