बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु

- प्रगति ढकाल म छोरी भएर नजन्मिनु पर्थ्यो यो न्याय मरेको देशमा जन्मी त हालेंँ बाबा, अब मलाई छोरा बन्न मन छ, त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु। आजभोलि हामी छोरीहरू कति अभागीजस्तै लाग्छ, किनकि हरेक दिन जस्तै कोही न कोही बलात्कृत हुन्छन्, यहाँ आफ्नै सुरक्षा छैन। थाहा छैन, क…

बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु
- प्रगति ढकाल म छोरी भएर नजन्मिनु पर्थ्यो यो न्याय मरेको देशमा जन्मी त हालेंँ बाबा, अब मलाई छोरा बन्न मन छ, त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु। आजभोलि हामी छोरीहरू कति अभागीजस्तै लाग्छ, किनकि हरेक दिन जस्तै कोही न कोही बलात्कृत हुन्छन्, यहाँ आफ्नै सुरक्षा छैन। थाहा छैन, को? कुन दिन? यौनपिपासु भोका ब्वाँसाहरूबाट चिथोरिनुपर्छ, निचोरिनुपर्छ अनि यौवनको भोक मेटिएपछि मारिन्छ बाबा, कलिलो उमेरमा नै त्यसैले बाबा म लिंग परिवर्तन गर्न चाहन्छु। झलुङ्गोमा सुतिरेहेकी उपल्लाघरकी भदैनी त सुरक्षित भइनन्, जवानी सुकिसकेको ६० वर्षीया ती पल्लाघरकी हजुरआमा त बलात्कृत भइन् भने मेरो त बाँच्ने उमेर अझै कति छ आजसम्म त बचेकी छु तर यति लामो जिन्दगी अझै जिउनु छ के त्यतिबेलासम्म म सुरक्षित हुन पाउँला ? अहँ बाबा ! मलाई विश्वास नै छैन त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु। फक्रिन नपाउँदै कोपिलामा नै ती निर्मला बहिनीको जवानी लुटियो बाबा, कहाँ जवानी मात्रै लुटिएको हो र ? उनको यस धर्तीमा बाँच्न पाउने अधिकार पनि लुटियो भने, बाबा मेरो त जवानी फक्रिसकेको छ, यौवनका भोका जुकाहरू मेरो जवानीको रस चुस्न कतै आतुर भएर त बसेका छैनन् ? हो, डर लाग्छ बाबा मलाई घरिघरि म काँपिरहन्छु बाबा त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु। आफ्नै बाउ सरहका मान्छेले हेर्नुस् त सम्झना बहिनीको जवानीको प्यास मेट्न नपाएको झोकमा एसिड हालिदिएछ। विचरा आज उनी पनि यस धर्तीमा छैनन्, बाबा मलाई पूरा जिन्दगी जिउन मन छ, मलाई मेरो अस्तित्व जोगाइराख्न मन छ यौवनका भोका ब्वाँसाहरूको आहारा बन्न मन छैन बाबा मलाई त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु। अहिले त यस्तो लाग्छ लाग्छ कि बाबा, बाटोमा कसैले सायद राम्रै नजरले हेर्दा पनि मेरा जवानीमा गिद्धे नजर लगाएको हो, यस्तै शंका लाग्छ कहीँ कतै हिँड्दा पनि बाटोमा यौवनका भोका ब्वाँसाहरू भेटिने हुन् कि भनेर थरथर काँपिरहन्छु म कतिन्जेल यसरी भयभित भएर काँपिरहूँ म? त्यसैले बाबा म लिंग परिवर्तन गर्न चाहन्छु। म जहाँ, जहिले जसबाट पनि बलात्कृत हुन सक्छु, गल्ली गल्ली, चोक चोक, बाटो, अनि वरिपरि, जहाँ पनि असुरक्षित महसुस गरिरहेछु यौवनका प्यासी जुकाहरू मेरो फक्रिएको जवानीको रस चुस्न मौका कुर्दै छन् कि शंका लाग्छ मलाई निडर पनि बाबा त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु। मैले एक छाक कटाएर सरकारलाई बुझाएको करले सुरक्षाका लागि खटाएका ती, सुरक्षाका पहरेदारबाट नै म आफ्नो असुरक्षाको महसुस गरिरहेको छु, कसले देला बाबा मेरो सुरक्षा? त्यसैले लाग्छ मलाई, म छोरी भएर नजन्मनु पर्थ्यो यो न्याय मरेको देशमा। जन्मी त हालेंँ बाबा, अब मलाई छोरा बन्न मन छ, त्यसैले बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु।