बागलुङ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै बागलुङमा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि खुलेर नाम सार्वजनिक गरिनसके पनि आकांक्षीहरू भित्रभित्रै राजनीतिक भेटघाट र कसरत गरिरहेका छन् ।
उनीहरू आफ्नो पक्षमा माहोल बनाउन केन्द्रसम्म लबिइङ गर्दै छन् । केन्द्रका शक्तिशाली नेताहरूको समर्थन प्राप्त गर्न यसबीच धेरै नेताहरू काठमाडौं पुगेर आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । यससँगै आकांक्षीहरूले आफू निकट जिल्ला नेता तथा कार्यकर्तासँग पनि भेटघाटलाई तीव्रता दिएका छन् ।
आगामी साउन १२ गतेका लागि तोकिएको अधिवेशनमा जिल्लाका ६ गाउँपालिका र ४ नगरपालिकाका ८२ वडाबाट क्रियाशील सदस्यहरूले सहभागिता जनाउनेछन् । सभापतिमा दुई स्थानीय तहका चार आकांक्षी देखिएका छन् । पार्टीका वर्तमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, महासमिति सदस्य तथा पूर्वउपसभापति जगदीशचन्द्र उपाध्याय, पार्टी जिल्ला सचिव नवराज पौडेल र महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य जिल्लाको नेतृत्व लिने होडमा छन् ।
यीमध्ये थापा बागलुङ नगरपालिका–११, उपाध्याय वडा नम्बर ३ र आचार्य वडा नम्बर ४ का बासिन्दा हुन् भने पौडेल जैमिनि नगरपालिका–८ छिस्तीका हुन् । जिल्लामा यसपटक क्रियाशील सदस्य ६ हजार हाराहारीमा थपिएको र तिनको नाम केन्द्रमा पठाई छानबिन भइरहेको पार्टीले जनाएको छ । यससहित जिल्लामा क्रियाशील सदस्यको संख्या करिब १३ हजार पुगेको छ । बागलुङमा क्रियाशील सदस्यताबारे पार्टीमा विवाद भएपछि केन्द्रले छानबिन सुरु गरेको हो ।
बागलुङमा शेरबहादुर देउवा (संस्थापन) र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । सभापतिका आकांक्षी थापा र आचार्य देउवा पक्षका मानिन्छन् भने उपाध्याय पौडेल पक्षका एक्ला उम्मेदवार हुन् । अर्का आकांक्षी पौडेल केन्द्रमा कृष्ण सिटौला समूहका नेता भए पनि जिल्लामा देउवा पक्षकै निकट मानिन्छन् । सभापतिका लागि ५१ प्रतिशत भोट ल्याउनुपर्ने पार्टी विधानमा उल्लेख छ ।
यी आकांक्षीबाहेक जिल्लामा दोस्रो तहका नेताहरूसमेत नेतृत्व हाँक्न इच्छुक देखिन्छन् । नेपाली कांग्रेसलाई अब आउने निर्वाचनमा पहिलो पार्टी बनाउन युवाहरूको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरू लबिइङ गरिरहेका छन् । युवाहरूको समेत दाबीपछि कांग्रेसको जिल्ला अधिवेशनमा कुन पक्ष बलियो हुन्छ भन्नेबारे व्यापक बहस हुन थालेको छ । यसले गर्दा जिल्लामा नेतृत्व गरेका र गर्न चाहने मुख्य नेताहरूलाई आफनो समूहमा सन्तुलन मिलाउन सकस पर्ने देखिन्छ ।
युवामाझ लोकप्रिय रहेका प्रदेशसभा सदस्यका उम्मेदवार जित शेरचन, बागलुङ नगरपालिकाका मेयरका प्रत्याशी वसन्तकुमार श्रेष्ठ, नेपाल तरुण दल बागलुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, क्षेत्रीय सभापतिहरू चिरञ्जीवी गौतम, द्रोण कुँवर र नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सहमहामन्त्री हरिहर शर्माको नाम चर्चामा छ ।
यस्ता छन् जिल्ला सभापतिका सम्भावित दाबेदारहरू
- जगदीशचन्द्र उपाध्याय
- दीपेन्द्रबहादुर थापा
- नवराज पौडेल
- जगन्नाथ आचार्य
