जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगीतामा विजेता खेलाडीलाई नगरपालिकाको सम्मान

सागर भण्डारी,मुसिकोट । मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगीतामा प्रथम हुने खेलाडीलाई सम्मान गरेको छ । सदरमुकाम तम्घासमा सोमबार सम्पन्न प्रतियोगीतामा १२ वटा स्थानीय तहलाई पराजित गर्दै प्रथम हुन सफल मुसिकोट नगरपालिकाका खेलाडीहरुलाई एक कार्यक्रमकाबीच स…

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगीतामा विजेता खेलाडीलाई नगरपालिकाको सम्मान
सागर भण्डारी,मुसिकोट । मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगीतामा प्रथम हुने खेलाडीलाई सम्मान गरेको छ । सदरमुकाम तम्घासमा सोमबार सम्पन्न प्रतियोगीतामा १२ वटा स्थानीय तहलाई पराजित गर्दै प्रथम हुन सफल मुसिकोट नगरपालिकाका खेलाडीहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेको हो । मुसिकोट नगरपालिकाका विभिन्न विद्यालयका खेलाडीहरु १६ स्वणर्पदक,७ रजत पदक र ८ कास्य पदक सहित जिल्ला प्रथम भएका थिए । उक्त खेलमा सहभागी ८२ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको हो । त्यस्तै सोही कार्यक्रममा रेफ्री,खेल शिक्षक तथा नगरपालिका मार्फत समन्वय गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले सैद्धान्तिक शिक्षाले मात्रै भन्दा पनि खेलकुदले विद्यार्थीहरुको व्यक्तित्व विकासमा उल्लेखनीय भुमिका खेल्ने बताए । खरेलले विजयी सम्पूणर् खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै खेलकुद मार्फत मुसिकोट नगरपालिकाको पहिचान बनाउन अझै उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश र राष्ट्रिय स्तरको खेलमा समेत विजयी हुन आग्रह गरे । उनले खेलकुदको क्षेत्रमा नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलाडीहरुको मनोबल उच्च हुने गरी काम गर्ने बताए । नगरपालिकाकी उपप्रमुख गगां श्रेष्ठले खेलाडीलाई बधाई व्यक्त गर्दै यसअगाडीका खेलकुदमा पनि अझै उत्कृष्ट प्रदर्शन गरी विजयी हुन आग्रह गरिन् । नगरपालिकाका उजुरी प्रशाशक विष्णु प्रसाद खरेलले जिल्ला स्तरीय प्रतियोगिताबाट प्रदेश स्तरीय प्रतियोगीतामा नगरपालिका भित्रका ३२ जना खेलाडी छनोट भएको जानकारी दिए । कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति सयोंजक एवम् वडा नं ५ का वडाध्यक्ष ऋषिश्वर अर्यालले खेलाडीहरुलाई राष्ट्रिय स्तरका प्रशिक्षकद्धारा प्रशिक्षण गर्न सकेमा राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने बताए । सोही अवसरमा खेलाडीहरुले जितको शील्ड तथा कपहरु नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । सम्मान कार्यक्रम पश्चात खेलाडी तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सहित नगर परिक्रमा समेत गरिएको थियो । कार्यक्रममा वडाध्यक्षहरु,नगरपालिकाका कार्यपालिका सदस्य,विषयगत समितिका प्रमुख,विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधि शिक्षक,खेलाडी,नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम नगरपालिकाका राजश्व शाखा प्रमुख गोविन्द कडेलले सञ्चालन गरेका थिए ।