गुल्मीको यस्तो गाउँपालिका जहाँ छोरी जन्माए पाईन्छ ५ हजार रुपैँया

गुल्मी । जिल्लाको कालीगण्डकी गाउँपालिकाले ५६ जना छोरीहरुको खातामा पाँच हजार रुपैयाँका दरले अनुदान प्रदान गरेको छ। छोरी जन्मे पाँच हजार प्रदान गर्ने गत आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार गाउँपालिका भित्र ५६ जना छोरी जन्मेकाले उनीहरुको बैंक खाता खोली पाँच हजारका दरले खातामा जम…

गुल्मीको यस्तो गाउँपालिका जहाँ छोरी जन्माए पाईन्छ ५ हजार रुपैँया
गुल्मी । जिल्लाको कालीगण्डकी गाउँपालिकाले ५६ जना छोरीहरुको खातामा पाँच हजार रुपैयाँका दरले अनुदान प्रदान गरेको छ। छोरी जन्मे पाँच हजार प्रदान गर्ने गत आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार गाउँपालिका भित्र ५६ जना छोरी जन्मेकाले उनीहरुको बैंक खाता खोली पाँच हजारका दरले खातामा जम्मा गरिदिएको स्वास्थ्य संयोजक चन्द्रबहादुर रानाले जानकारी दिए। छोरीहरुको जन्म दर्ता र सम्बन्धित वडाको सिफारिसका आधारमा सीधै बैंक खातामा रकम जम्मा गरिदिएको रानाले बताए । छोरीको सुनौलो भविष्यका लागि गाउँपालिकाले ५६ जना छोरीहरुको खातामा पाँच हजारका दरले जम्मा गरिदिएको उपाध्यक्ष मञ्जु दर्लामीले बताइन्। अझै पनि समाजमा छोरीभन्दा छोरालाई महत्व दिने र कतिपयले गर्भमा छोरी छ भन्ने थाहा भएपछि गर्भपतन गराउने चलन भएकाले त्यसको अन्त्यका लागि यस्तो कार्यक्रम ल्याइएको दर्लामीले दाबी गरिन्। उक्त कार्यक्रमले छोरीहरुलाई अवहेलना गर्ने प्रचलनको अन्त्य र पोषणमा पनि केही सहजता आउने भएकाले यो कार्यक्रम प्रभावकारी भएको गाउँपालिकाले दाबी गरेको छ। कुनै परिवारमा आर्थिक अवस्था कमजोर भए सुत्केरी खर्च पनि हुने भएकाले उक्त रकम बाबुआमाले बैंकबाट निकाल्न सक्ने गरी सहजता बनाइएको स्वास्थ्य शाखाले जनाएको छ। यस कार्यक्रमले छोरीको सुनौलो भविष्य निर्माण गर्नमा सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। ५६ जना छोरीहरुको खातामा पाँच हजारका दरले दुई लाख ८० हजार रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए। चालु आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने र सो कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए । -थाहा खबर डटकमबाट