शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले भानु माविले हिरक महोत्सव गर्दै

सागर भण्डारी,बडिगाड । बागलुङको पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भानु माध्यमिक विद्यालय बडिगाड गाउँपालिका -५ बागलुङले आफ्नो स्थापनाको ६० औँ बर्षगाँठको अवसरमा हिरक महोत्सव भव्य रुपमा सम्पन्न गर्ने भएको छ । यसक्षेत्रकै पुरानो विद्यालयको रुपमा २०१९ सालमा स्थापना भएको विद्यालयले “गु…

शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले भानु माविले हिरक महोत्सव गर्दै
सागर भण्डारी,बडिगाड । बागलुङको पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भानु माध्यमिक विद्यालय बडिगाड गाउँपालिका -५ बागलुङले आफ्नो स्थापनाको ६० औँ बर्षगाँठको अवसरमा हिरक महोत्सव भव्य रुपमा सम्पन्न गर्ने भएको छ । यसक्षेत्रकै पुरानो विद्यालयको रुपमा २०१९ सालमा स्थापना भएको विद्यालयले “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार” भन्ने नारा सहित यही माघ २२ गते देखि २८ गतेसम्म हिरक महोत्सव आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो । विद्यालयमा प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने, विद्यालय बस सञ्चालन गर्ने र आवासीय विद्यालय सहित निशुल्क शिक्षालाई पूणर् कार्यान्वयन गर्ने उद्धेश्य राखेर हिरक महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । यसका लागि विद्यालयले विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तिहरुसगं सहयोग सकंलन अभियान समेत सञ्चालन गरेको छ । विद्यालयले हिरक महोत्सवको अवसरमा विद्यालयका संस्थापक, शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पुर्‍याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी, खेलाडी, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गर्ने लगायतका कार्यक्रम आयोजना गरेको छ । यस बाहेक आन्तरिक शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका शिक्षक टिका पाईजाले बताउनुभयो । विद्यालयको ईतिहास संस्मरण गर्दै ईतिहासको पुर्नलेखन र भविष्यको मार्गदर्शनको रुपमा हिरक महोत्सव रहने उहाँको भनाई छ । विद्यालयको वृहतर विकास र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा अहिलेसम्म विभिन्न व्यक्तिबाट झण्डै १ करोड ३५ लाख रुपैयाँ सहयोग सकंलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका सयोंजक अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो । स्थानीयहरुले उत्साहका साथ सहयोग गरिरहेको र सहयोगमा जोडिन समेत उहाँले सबैसगं अनुरोध गर्नुभएको छ । विद्यालयमा हाल कक्षा १-१२ सम्मका कक्षा सञ्चालन हुदै आईरहेका छन् भने विद्यालयमा झण्डै ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।