रविलाई पर्सामा ५४ प्रश्न, भोलि पोखरा पठाइने

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । मंगलबार एकै दिनमा उनको बयान सकिएको हो । पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५…

रविलाई पर्सामा ५४ प्रश्न, भोलि पोखरा पठाइने

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ ।

मंगलबार एकै दिनमा उनको बयान सकिएको हो । पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो ।

रविलाई बिहान ९ बजे बयानका लागि लगिएको थियो । केहीबेर बयान लिएर खाना खुवाउन जिल्ला प्रहरी कार्यालय ल्याइयो । त्यसपछि फेरि सरकारी वकिल कार्यालय लगेर बयानलाई निरन्तरता दिइयो । बेलुका ५ बजेतिर बयान सकिएको हो । अहिले उनलाई फेरि जिप्रकाको हिरासतमा राखिएको छ । रविले आजको बयानमा अधिकांश रेडिमेड र पुरानै प्रश्नहरु सोधिएको गुनासो गरेका छन् ।

रविलाई बयान लिँदै गर्दा रास्वपा समर्थकहरुले प्रदर्शन गरेका थिए । बयानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको थियो । लामिछानेको बयान सकिएकाले भोलि पोखरा फिर्ता पठाइने पर्सा प्रहरी प्रवक्ता, डीएसपी किशोर लम्सालले बताए ।

पर्साको वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा रविसँग बयान लिइएको हो । उक्त सहकारीबाट रवि गोर्खा मिडिया नेटवर्कको प्रबन्धन निर्देशक एवं शेयर सदस्य हुँदा बचत रकम ल्याएर अपचलन गरेको आरोप छ । यही प्रकरणमा जोडिएका प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसँग पर्सामा रविको भन्दा अघि बयान भइसकेको छ ।

सहकारीको रकम आउँदा छवि पनि गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए । प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान दिइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर सोही दिन पोखरा लगिएका थिए ।