रविसँगै पत्नी निकितालाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा, सम्पत्ति जफत गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले लामिछानेसँगै पत्नी निकितालाई पनि प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो । निकिताको नाममा देखिएको अवैध सम्पत…

रविसँगै पत्नी निकितालाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा, सम्पत्ति जफत गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिलको कार्यालयले लामिछानेसँगै पत्नी निकितालाई पनि प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो ।

निकिताको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजन शीर्षकमा निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ ।

यस प्रयोजनका लागि निकितासहित पद्मा बञ्जाडे, रोचक जोशी, राधा पछाई र मिना पछाईलाई प्रतिवादी बनाइएको हो । उनीहरूको हकमा अदालतबाट कानुन बमोजिम हुने गरी मुद्दा अघि बढाइएको छ ।

रविको मात्रै २७ करोड भन्दा बढीको बिगो माग दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो ।

उनीसँगै पूर्व डिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम माग दाबी गरेको हो । उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।

आइतबार दर्ता गरिएको पूरक अभियोग पत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो ।

आठ वटा कम्पनी र पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लीला पछाईविरूद्ध मुद्दा दायर भएको हो ।

यसअघि सरकारी वकिलले शुक्रवार जिबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरेको थियो ।