राहतको चामलमा ढुंगा र बियाँ

लमजुङ चैत्र २७ । दूधपोखरी गाउँपालिकाले राहत वितरणसम्बन्धी मोडालिटी तयार पारे पनि वडा कार्यालयले मनपरी खाद्यान्न वितरण गरेको पाइएको छ । दुई जनासम्मको परिवारलाई ८ किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक किलो नुन र दुई वटा साबुन, चार जनासम्मको परिवारलाई १५ किलो चामल, दुई किलो दाल,…

राहतको चामलमा ढुंगा र बियाँ
लमजुङ चैत्र २७ । दूधपोखरी गाउँपालिकाले राहत वितरणसम्बन्धी मोडालिटी तयार पारे पनि वडा कार्यालयले मनपरी खाद्यान्न वितरण गरेको पाइएको छ । दुई जनासम्मको परिवारलाई ८ किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक किलो नुन र दुई वटा साबुन, चार जनासम्मको परिवारलाई १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक किलो नुन र दुई वटा साबुन दिने मोडालिटी बनाइएको थियो । साथै, ४ जनाभन्दा बढी व्यक्ति भएका परिवारलाई २० किलो चामल, ३ किलो दाल, साढे एक लिटर तेल, नुन एक किलो र दुई वटा साबुन दिने गाउँपालिकाको निर्णय थियो । सोहीअनुरुप राहत वितरण फाराम समेत वडावडामा पठाइएको थियो । गण्डकी प्रदेश सरकारले हरेक नगरपालिकामा १० लाख र गाउँपालिकामा ५ लाख पठाएकोमा उक्त बजेटबाट सहायता खाद्यान्न सामगी वितरण गर्न भनिएको थियो । राहत प्राप्त गर्ने व्यक्तिको तीनपुस्ते खुलाउनुपर्ने, दैनिक ज्यालादारीमा काम गर्ने स्थान र कामको विवरण खुलाउनुपर्ने, पेसा गरेको कागजातको विवरण खुलाउनुपर्ने उल्लेख छ। राहत लिने व्यक्तिले करारनामा गर्नुपर्ने भनिएको छ । तर, राहत लिने व्यक्तिको नाम उल्लेख भए पनि बुझिलिनको सहिछाप, तीनपुस्ते, काम गरेको ठाउँ, औंठाछाप केही नराखी वितरण गरिएको छ । सहायता खाद्यान्न पाउनेले कति र केके पाए भनेर राहत विवरण फाराममा खुलाइएको छैन । सहायता पाउने व्यक्तिले कागजातपत्र समेत बुझाएका छैनन् । सिफारिस गर्ने व्यक्तिले सिफारिस गरेको पनि देखिँदैन । दूधपोखरी वडा नं २ का अध्यक्ष गोविन्द दवाडीले २ वटा प्याकेज गरेर राहत वितरण गरिएको बताउनुभयो । दूधपोखरी २ मा वितरण गरिएको खाद्यान्नको गुणस्तर न्युन रहेको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार नेतृत्वको एक अनुगमन टोलीले बुधबार स्थलगत अनुगमन गरी वितरित चामलको ४ ठाउँबाट नमुना संकलन गरेर ल्याएको छ । वडाले खाद्यान्न सामग्री ल्याउन स्थानीय व्यवसायीलाई जिम्मा दिएकोमा ती व्यवसायीले खरिद र विक्रीको बिलभर्पाइ अनुगमन गर्ने क्रममा दिन नसकेको सहायक प्रजिअ सुनारले बताउनुभयो । चामलमा कैफियत देखिने कुरा परीक्षणबाट मात्रै थाहा हुन्छ । ३ प्याकेजमा राहत वितरण गर्ने भनिए पनि २ प्याकेज बनाएर वितरण गरेको देखिएको उहाँले बताउनुभयो । अनुगमन समितिका सदस्य एवं घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख तोपलाल भुषालका अनुसार व्यवसायीले फर्म दर्ताको प्रमाणपत्र दिए पनि नवीकरणको दिन सकेनन् । चामलको नाम उल्लेख भए पनि चामलको ब्राण्ड, चामल उत्पादन कम्पनी, प्रयोग मिति उल्लेख नभएको पाइएको उहाँले बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार केही चामलमा घुन, केही धुलो, बियाँ, स–साना ढुंगा माटो पनि देखिएको छ । उत्पादन मिति, संस्था र चामललको ब्रान्ड उल्लेख छैन । स्थानीय अनिल दवाडीले वितरण गरिएको चामलमा ढुंगामाटो मिसिएको, बियाँ धेरै भएको, धुन लागेको पाइएको आरोप लगाउनुभयो । दूधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलले मजदुर र बेरोजगारलाई राहत दिने सन्दर्भमा सबै वडालाई एउटै किसिमको मोडालिटी बनाएर पठाएको बताउनुभयो । कान्तिपुर दैनिकबाट