लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, नेपाली सेनाका उपरथी ढकाल घाइते 

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनिफिल) का डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेज…

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, नेपाली सेनाका उपरथी ढकाल घाइते 

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनिफिल) का डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी-भिडले रोकी तोडफोड गर्दा उनी घाइते भएका हुन् ।

उपरथी ढकाल घाइते भएको र उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । ‘घटना पश्चात उहाँलाई तत्कालै उद्धार गरी युएन लेभल–३ अस्पताल बेरुत पुर्‍याइएको थियो । अस्पतालले हाल उहाँ खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमाण्डर, आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए’, नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । उपरथी ढकाल बेरुत विमानस्थल जाने क्रममा सो आक्रमण भएको हो ।

घटनाको सम्बन्धमा मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

घटनाको भत्र्सना गर्दै लेबनानका प्रधानमन्त्री नवाफ सलमान र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति-समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको समाचार संस्था एपीले जनाएको छ । त्यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका छन् ।