राजनीतिक दलको चन्दा रकम अपारदर्शी, चन्दा दिनेको नाम गोप्य

राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले), चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)ले चन्दा तथा सहयोगबाट उल्लेख्य आम्दानी गरेका छन् तर लेखा परीक्ष…

राजनीतिक दलको चन्दा रकम अपारदर्शी, चन्दा दिनेको नाम गोप्य

राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ ।

संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले), चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)ले चन्दा तथा सहयोगबाट उल्लेख्य आम्दानी गरेका छन् तर लेखा परीक्षण प्रतिवेदन बुझाउँदा कुनै पनि दलले चन्दा दिनेको नाम खुलाएका छैनन् । कानुनले त्यस्तो आम्दानीको स्रोत र २५ हजार रुपियाँभन्दा बढी चन्दा दिनेको नाम खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले आव २०७९/८० को विवरण बुझाउँदा चन्दा दिनेको नाम र सहयोग राशि खुलाए पनि गत आवको प्रतिवेदनमा सो विषय लुकाएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ३८ मा दलले कुनै व्यक्ति वा सङ्गठित संस्थाबाट २५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्किङ ट्रान्सफर वा चेकमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ ।

सोही दफामा आर्थिक सहयोगसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ । दलसम्बन्धी ऐनसँग सम्बन्धित अनुसूची २ ले २५ हजार रुपियाँभन्दा बढी चन्दा दिनेको नाम, थर, वतन वा संस्थागत परिचय उल्लेख गर्ने विवरणसँग सम्बन्धित छ ।

राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाउँदा चन्दा तथा सहयोग र विशेष आर्थिक सहयोग शीर्षक अन्तर्गतको कुल आम्दानी उल्लेख गरेका छन् तर चन्दा तथा सहयोग दिनेको नाम उल्लेख गरेका छैनन् । दलले अनुसूची ३ अन्तर्गत गरेको आम्दानीलाई भने शीर्षकगत रूपमै राखेका छन् । अनुसूची ३ प्रकाशन बिक्रीबापत भएको आम्दानीसँग सम्बन्धित छ ।

दलहरूले निर्वाचन आयोगमा बुझाएका विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेका छन् । सो विवरण अनुसार नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ । यसअघि कांग्रेसले यस शीर्षकमा दुई करोड ६५ लाख ६४ हजार ५७७ रुपियाँ आम्दानी गरेको थियो ।

नेकपा (एमाले)ले विशेष आर्थिक सहयोग अन्तर्गत आव २०८०/८१ मा ६२ लाख २४ हजार ५२० रुपियाँ आम्दानी गरेको छ । आव २०७९/८० मा सो दलले आर्थिक सहयोग शीर्षकमा पाँच करोड छ लाख ६८ हजार १७८ रुपियाँ आम्दानी गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०/८१ मा एक करोड १५ लाख ७२ हजार ३९६ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको छ । सो दलले स्थापनाको पहिलो वर्ष भने एक करोड ८६ लाख २५ हजार ८१५ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनले लिन नहुने स्वेच्छिक आर्थिक सहयोगको रकम कुनै दलले प्राप्त गरेको प्रमाणसहितको उजुरी परेमा वा अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा वा दलले त्यस्तो रकम प्राप्त गरेको छ भनी विश्वास गर्नुपर्ने मनासिब कारण भएमा आयोगले त्यससम्बन्धमा तोकिएबमोजिम जाँचबुझ गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगको जाँचबुझबाट दलले त्यसरी रकम प्राप्त गरेको देखिएमा त्यस्तो रकम आयोगमा दाखिला गर्न सम्बन्धित दललाई आदेश दिने उल्लेख छ । राजनीतिक दलले यसअघि राजनीतिक नियुक्ति शीर्षकमा समेत आम्दानी जनाएको थियो । त्यसयता दलले कुल आम्दानी उल्लेख गरे पनि सहयोग दिनेको नाम र शीर्षक उल्लेख गर्न चाहेनन् ।

नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक गरेको विवरण अनुसार १० हजार मात्र उसले चन्दाबाट सहयोग प्राप्त गरेको छ । चन्दा तथा सहयोगबाट सबैभन्दा बढी नेकपा (एकीकृत समाजवादी)ले आम्दानी गरेको छ तर सो दलले पनि चन्दा तथा सहयोगको विवरण पारदर्शी गरेको छैन ।

एकीकृत समाजवादीका अनुसार आव २०८०/८१ मा सो दलले तीन करोड ११ लाख ५९ हजार १४५ रुपियाँ आम्दानी गरेको छ, जसमध्ये संस्थागत सहयोग एक करोड ४५ लाख र व्यक्तिगत सहयोग करिब एक करोड ६६ लाख छ । गोरखापत्र दैनिकमा समाचार छ