दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर…

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो ।

विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।

उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । तर प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ ।