ताप्लेजुङ दुर्घटनाका मृतक चार जनाको परिचय खुल्यो, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

ताप्लेजुङको पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । ललितपुर महानगरपालिका-१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्य…

ताप्लेजुङ दुर्घटनाका मृतक चार जनाको परिचय खुल्यो, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

ताप्लेजुङको पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

ललितपुर महानगरपालिका-१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्य प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छन् । उनीहरू दुवैजना खतरामुक्त अवस्थामा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

घटना आज बिहान फुङलिङ नगरपालिका-१० को सेवारो चोकमा भएको हो । फुङलिङ सदरमुकामबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिँदा गाडीमा आगलागी भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका-१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।