सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर एक पिकअप भ्यान गायब भएको छ । भित्री कच्ची सडक खण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले…

सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर एक पिकअप भ्यान गायब भएको छ ।

भित्री कच्ची सडक खण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ ।

गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’

घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ । पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । पानी कटाएर गाडीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।