गण्डकीका सांसद जुग्जालीले रोष्ट्रममै च्याते बजेट पुस्तिका

पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र) का सांसदले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन्। उनले म्याग्दीमा साढे तीन…

गण्डकीका सांसद जुग्जालीले रोष्ट्रममै च्याते बजेट पुस्तिका

पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र) का सांसदले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन्। उनले म्याग्दीमा साढे तीन करोडको नयाँ योजना छानिएको तर त्यसमा नेपाली कांग्रेस र नेकपा (एमाले)को मात्र योजना छानिएको दाबी गरे। म्याग्दीका दुईवटै प्रदेशसभा क्षेत्रबाट माओवादीका प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। प्रदेशसभा सदस्य जुग्जालीले दुई वर्षसम्म म्याग्दीलाई अन्याय भएको बताए। उनले आफ्नै खर्चमा भौतिकमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न पनि आग्रह गरे।

‘भौतिक मन्त्री ज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र हरि माननीय ज्यू (हरि भण्डारी) को दुई करोड पनि फिर्ता लैजानुस् भन्दै दुई वर्ष म्याग्दीलाई अन्याय भएको हुँदा, म्याग्दीलाई कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद’, उनले भने । उनी बजेटमार्फत आफ्नो जिल्लामा अन्याय भएको भन्दै रुष्ट बने। ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस्। २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन। च्यात्न चाहन्छु।’

जुग्जालीले बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको बताए। ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु। पुस्तक च्यात्न चाहन्छु,’ उनले भने । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट छन्।