कोरोनासगैं डेगुंको त्रास ९ जना संक्रमित भेटिए

वैशाख २७ ,गलेश्वर । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि त्यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको संख्या नौ पुगेको छ । बेनी नगर…

कोरोनासगैं डेगुंको त्रास ९ जना संक्रमित भेटिए
वैशाख २७ ,गलेश्वर । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि त्यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको संख्या नौ पुगेको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले जानकारी दिनुभयो । डेङ्गुको उच्च जोखिममा छौँ उहाँले भन्नुभयो यसवर्ष हामीलाई डेङ्गुले सताउने सङ्केत देखिएको छ । गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् । बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै सङ्क्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा बस्ताकोटीको भनाइ छ । शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् । डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ । गत वर्ष म्याग्दीमा १२ जनामा डेङ्गु र एक जनामा स्क्रबटाइफस देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै डेङ्गुको सङ्क्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । डेगुंबाट कसरी बच्ने यो पढ्नुहोस् डेंगु भाइरसको माध्यमबाट फैलिने हुँदा यसको संक्रमण हुँदा मानिसलाई कडा ज्वरो आउँछ । यो ज्वरो आएको मानिसलाई टोकेको लामखुट्टेले अर्को मानिसलाई टोकेमा संक्रामक रूपमा फैलिन्छ । लामखुट्टे यस ज्वरोको प्रसारक मानिन्छ । हिजोआज धेरै मानिसलाई डेंगुले संक्रमण गरेका समाचार जताततै पढ्नु, हेर्नु र सुन्नु परिरहेको छ । डेंगुको संक्रमण बढाउने लामखुट्टे प्रमुख कारक हो । डेंगु लागेपछि अत्यधिक ज्वरो आउँछ । यस ज्वरोमा हड्डी पनि तात्छ भनिन्छ । डेंगु लागेपछि ज्वरो आउँदा हड्डीमा पनि असह्य दुखाइ हुन्छ । डेंगुका धेरै लक्षण हुन्छन् । अत्यधिक ज्वरो, टाउको दुख्ने, छालामा राता गोलागार निसाना बन्ने, मांसपेशी र जोर्नीमा अत्यधिक दुखाइ यसका लक्षण हुन् । डेंगु लागेपछि यसको उपचार समयमै गर्नुपर्छ । यसको लक्षण देखिनासाथ चिकत्सको परामर्श त अत्यावश्यक हुन्छ नै । केही घरेलु उपचारबाट पनि डेंगुको संक्रमणबाट बच्न सकिन्छ । सकेसम्म भिटामिन सी युक्त खानेकुरा बढाउनुपर्छ । भिटामिन सीले मानिसको शरीर स्वस्थ राख्नुका साथै शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ । यसबाहेक भिटामिन सीले कुनै पनि प्रकारको संक्रमण प्रसार हुनबाट रोक्ने काम गर्छ । बेसारको सेवन पनि डेंगुमा फलदायी मानिन्छ । सामान्यतस् दाल र तरकारीमा बेसारको प्रयेग त हुन्छ नै यसबाहेक दूधमा पनि बेसार मिसाएर सेवन गर्न सकिन्छ । बेसारमा रहेको एन्टिबायोटिक तत्वले व्यक्तिको प्रतिरक्षालाई मजबुत बनाएर बिरामी हुनबाट जोगाउँछ । तुलसी र महको सेवन गर्नाले पनि डेंगुबाट सुरक्षित हुन सकिन्छ । यसका लागि तुलसीका पात पानीमा उमालेर यसमा मह मिसाएर सेवन गर्न सकिन्छ । चियामा पनि तुलसीको पात मिसाउन सकिन्छ । तुलसीमा रहेको एन्टिब्याक्टेरियल गुणले डेंगुको संक्रमणबाट बच्न सहायक हुन सक्छ । डेंगुको उपचारमा मेवाका पातलाई उत्तम औषधीका रूपमा लिइन्छ । मेवाका पातको रस दिनमा दुई पटक २÷३ चम्चाका दरले सेवन गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ । मेवाका पातमा पर्याप्त प्रोटिनयुक्त पपेन इन्जाइम पाइन्छ । यसले पाचन शक्ति सुदृढ बनाउँछ । रगतमा रातो रक्त कणको मात्रा बढाउन पनि मद्दत गर्छ । डेंगु ज्वरोका कारण शरीर रक्त अल्पता र कमजोरी हटाउन अनार सेवन लाभकारी हुन्छ । अनारमा रहेको भिटामिन ई, सी, ए एवं फोलिक एसिड र एन्टिअक्सिडेन्ट अत्यन्त फाइदाजनक मानिन्छ । अनारले रातो रक्त कण निर्माणमा पनि महत्वूर्ण भूमिका खेल्छ । रक्तअल्पता घटाउन पनि यसले सहयोग र्पुयाउँछ ।मेथीको साग सेवन गर्नाले पनि डेंगुबाट बच्न सकिन्छ । मेथीको साग खानाले शरीरबाट सबै किसिमका हानिकारक तथा विषाक्त पदार्थ बाहिर निस्कन्छन् । शारीरिक दुखाइ र अनिद्राको समस्यामा पनि मेथीको साग लाभकारी मानिन्छ । तरकारीका रूपमा वा त्यत्तिकै उमालेर यसको रस सेवन गर्न सकिन्छ । साग उपलब्ध नभए मेथीका दाना भिजाएर पनि उपयोग गर्न सकिन्छ । गुर्जो हरेक बिमारीका लागि अमृत बराबर मानिन्छ । यसको सेवनले राता रक्त कणिका वृद्धि गराउँछ । यसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । तुलसी पात र गुर्जो बेसरी उमालेर सेलाएपछि यसको सेवन गर्नुपर्छ । योबाहेक तयारी रूपमा पाइने गुर्जाको जुस अथवा चक्कीको सेवनले पनि शरीरमा फाइदा र्पुयाउँछ । कुनै पनि प्रकारले दिनमा दुई वा तिन पटक गुर्जोको सेवन गर्नु डेंगुबाट बच्ने उत्तम उपाय हुन सक्छ । डेंगु ज्वरोले थलिएकालाई बाख्राको दुध सेवन लाभकारी मानिन्छ । बाख्राको काँचो दुध दिनमा दुई–तिन पटक पिउनाले यस ज्वरोलाई निकै फाइदा गर्छ । बाख्राका दुधले रगतको कमी हटाउँदै प्रतिरक्षा प्रणालीलाई पनि सबल बनाउँछ । जोर्नीको दुखाइमा पनि बाख्राका दुध लाभकारी मानिन्छ । जमराको जुस पनि डेंगुको ज्वरो समनकारी मानिन्छ । यसको सेवनले रगतमा प्लेटलेट्सको निर्माण शीघ्र हुनुका साथै रोग प्रतिरोधक क्षमता पनि सबल हुन्छ । दैनिक दुईपटक यसको सेवनले डेंगुको संक्रमण कम हुन जान्छ । हर्बल चियाको सेवनले शरीरमा जम्मा भएको हानिकारक तत्व बाहिर निस्कन्छ । यसले रोग प्रतिरोधक क्षमता पनि सबल हुन जान्छ । अतः दिनमा दुई तिनपटक हर्बल चिया सेवन गर्ने बानी गर्नु फाइदाजक देखिन्छ । यीबाहेक डेंगुबाट सुरक्षित रहन सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न सकेसम्म जोगिनुपर्छ । घरनजिक पानी जम्न दिनु हुँदैन । पानी जमेका ठाउँमै लामखुट्टेको बास हुन्छ । डेंगुको लक्षण देखिने बित्तिकै अन्य औषधी सेवनपूर्व विज्ञ चिकित्सकको परामर्श लिनुपर्छ ।