एनआरएनए एनसीसी यूएईको अध्यक्षमा ठकुरी

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी मनोनित भएका छन्। उपाध्यक्षको रूपमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको अनुभवका आधारमा उनलाई नेतृत्व जिम्मेवारी प्रदान गरिएको हो। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का…

एनआरएनए एनसीसी यूएईको अध्यक्षमा ठकुरी

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी मनोनित भएका छन्। उपाध्यक्षको रूपमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको अनुभवका आधारमा उनलाई नेतृत्व जिम्मेवारी प्रदान गरिएको हो।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष मनोज गोर्खाली र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले सामाजिक सञ्जालमार्फत ठकुरीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
“सक्षम नेतृत्व, पारदर्शी कार्यशैली र समुदायप्रतिको समर्पणका कारण यूएईमा एनआरएनएको भूमिका अझ प्रभावकारी हुनेछ,” उनीहरूले उल्लेख गरेका छन्।

यूएईमा रहेका नेपालीहरूले नयाँ नेतृत्वप्रति उच्च अपेक्षा व्यक्त गरेका छन्। श्रमिक, व्यवसायी तथा समुदायका विभिन्न समूहले एनआरएनए यूएईले अब समुदायका समस्या समाधान तथा सहयोग कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

मनोनयनपछि अध्यक्ष ठकुरीले आफूलाई विश्वास गरी जिम्मेवारी सुम्पने सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गरे।
“यो केवल सम्मान मात्र होइन, ठूलो उत्तरदायित्व पनि हो। यूएईमा रहेका नेपाली कामदार, व्यवसायी तथा सम्पूर्ण समुदायका हितमा इमानदारीपूर्वक काम गर्नेछु,” उनले प्रतिक्रिया दिए।

ठकुरी विगत केही वर्षदेखि एनआरएनए यूएईमा सक्रिय रही श्रम–सम्बन्धी सहयोग, संस्थागत विस्तार, समुदायिक समस्या समाधान र अभियन्ताबीच समन्वयमा अग्रणी भूमिका खेल्दै आएका छन्। सहकर्मीहरूका अनुसार उनी संवाद, सहकार्य र समावेशी नेतृत्वका पक्षधर व्यक्तित्व मानिन्छन्।