एनपीएलमा आज दुई खेल हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो…

एनपीएलमा आज दुई खेल हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन्।चितवन कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।

दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्। चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ। विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली पाँचौं स्थानमा छ। विराटनगरका लागि थप सम्भावना भए पनि कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ।

कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । चारमा एक खेल गुमाएको विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ।

समान चार अंक भएका चितवन र काठमाण्डु तेस्रो र चौथो स्थानमा छन् । समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।