जेनजी आन्दोलनले २६२ स्थानीय तहमा क्षति, पुनः निर्माणमा ३६ अर्बभन्दा बढी खर्च हुने अनुमान

जेनजी आन्दोलनका क्रममा नोक्सान पुगेका सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । आन्दोलनको क्षति मूल्याङ्कन तथा पुनर्निर्माण योजना बनाउन गठित समितिले तयार पारेको प्रतिवेदन बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो । समिति सं…

जेनजी आन्दोलनले २६२ स्थानीय तहमा क्षति, पुनः निर्माणमा ३६ अर्बभन्दा बढी खर्च हुने अनुमान

जेनजी आन्दोलनका क्रममा नोक्सान पुगेका सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।

आन्दोलनको क्षति मूल्याङ्कन तथा पुनर्निर्माण योजना बनाउन गठित समितिले तयार पारेको प्रतिवेदन बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो ।

समिति संयोजक तथा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले सो प्रतिवेदनको सारांश सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरे । प्रतिवेदनअनुसार पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

समितिको मूल्याङ्कन अनुसार आन्दोलनबाट समग्र भौतिक क्षति ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबर भएको छ । प्रभावित निकाय/संस्था २ हजार १६८ पुगेका छन् । २ हजार ६७१ भवनमा क्षति पुगेको छ । त्यस्तै, १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त हुँदा करिब १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबर नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारी तथा सार्वजनिक संरचनामा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति पुगेको देखिएको छ । निजी क्षेत्रको क्षति ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रको क्षति ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबर छ । सरकारी क्षतिमध्ये संघीय तहको हिस्सा ६८ प्रतिशत, प्रदेशको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत रहेको उल्लेख छ ।

पुनर्निर्माणतर्फ भवन निर्माणमा १९ अर्ब ९८ करोड ९८ लाख, सवारीसाधनमा ६ अर्ब १६ करोड ८० लाख र अन्य संरचना पुनः स्थापना गर्न १० अर्ब १४ करोड ४२ लाख खर्च हुने अनुमान छ । संघ–प्रदेश–स्थानीय तहका लागि क्रमशः २४ अर्ब ६९ करोड ५८ लाख, ३ अर्ब ७४ करोड र ७ अर्ब ८६ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

समितिले सातै प्रदेशमा क्षति पुगेको उल्लेख गर्दै ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित भएको जनाएको छ । प्रतिवेदन अनुसार भदौ २३ र २४ अनि त्यसपछि गरी ७७ जनाको मृत्यु भएको छ । घाइते २ हजार ४२९ मध्ये १७ जना १३ वर्षमुनिका हुन् । १३ देखि २८ वर्ष उमेर समूहका १ हजार ४३३ जना घाइते भएका छन् ।

समितिले पुनर्निर्माण कार्ययोजना समेत पेस गर्दै आवश्यक बजेट तत्काल व्यवस्थापन गर्न सुझाव दिएको छ ।