राष्ट्रदेखि विश्वसम्म : स्वामी आनन्द अरुणको कल्याणकारी दृष्टि

काठमाडौं । जब संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’का रूपमा घोषणा गर्‍यो, त्यो केवल एउटा अन्तर्राष्ट्रिय दिवसको औपचारिक मान्यता मात्र थिएन। त्यो नेपालका लागि ऐतिहासिक उपलब्धि पनि थियो र त्यस उपलब्धिको मुख्य श्रेय हुनुहुन्थ्यो बोधिसत्त्व स्वामी आनन्द अरुण। झन्डै…

राष्ट्रदेखि विश्वसम्म : स्वामी आनन्द अरुणको कल्याणकारी दृष्टि

काठमाडौं । जब संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’का रूपमा घोषणा गर्‍यो, त्यो केवल एउटा अन्तर्राष्ट्रिय दिवसको औपचारिक मान्यता मात्र थिएन। त्यो नेपालका लागि ऐतिहासिक उपलब्धि पनि थियो र त्यस उपलब्धिको मुख्य श्रेय हुनुहुन्थ्यो बोधिसत्त्व स्वामी आनन्द अरुण। झन्डै ११ वर्षसम्मको निरन्तर साधना, अभियान र कूटनीतिक पहलपछि आज विश्व समुदायले ध्यानको महत्वलाई औपचारिक रूपमा स्वीकार गरेको छ, र यस ऐतिहासिक यात्राको नेतृत्वकर्ता बन्नुभएको छ स्वामी आनन्द अरुण ।

ध्यान, शान्ति र चेतनाको उद्गमस्थल मानिने हिमालय क्षेत्र, भगवान बुद्ध र भगवान शिवको भूमि नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा स्थापित गर्ने दृढ स्वप्न बोकेर अघि बढिरहनुभएका स्वामी आनन्द अरुण आज केवल एक आध्यात्मिक गुरु मात्र बन्नुभएको छैन् उहाँ नेपाललाई विश्वभर चिनाउने सांस्कृतिक तथा आध्यात्मिक दूतका रूपमा समेत सफल हुनुभएको छ ।

५५ वर्षको साधना

५५ वर्षदेखि निरन्तर आध्यात्मिक यात्रामा रहनुभएका स्वामी आनन्द अरुणले आफ्नो जीवन ध्यान, साधना र मानव चेतनाको विस्तारमा समर्पण गर्नुभएको छ। उहाँकै पहलमा नेपालमा ओशो दर्शन स्थापित भयो। ओशोका विचारलाई केवल दर्शनमा सीमित नराखी व्यवहारिक जीवनसँग जोडेर उहाँले ध्यानलाई आम मानिससम्म पुर्‍याउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘ध्यान कुनै धर्म होइन, यो विज्ञान हो। मन, शरीर र चेतनाको सन्तुलन हो।’ यही दृष्टिकोणका कारण आज विश्वका विभिन्न धर्म, संस्कृति र मुलुकका मानिस नेपाल आएर ध्यान सिकिरहेका छन्।

ओशो तपोवनः ध्यानको तीर्थस्थल

स्वामी आनन्द अरुणद्वारा स्थापना गरिएको ओशो तपोवन आज अन्तर्राष्ट्रिय ध्यान केन्द्रका रूपमा स्थापित छ। विगत ३६ वर्षदेखि तपोवनले ध्यान, योग र सत्कर्ममार्फत समाज रूपान्तरण सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्दै आएको छ।

हालसम्म ११० भन्दा बढी देशका साधकहरू तपोवनमा आएर ध्यान सिकिसकेका छन्। हरेक वर्ष औसत ५० देखि ६० देशका नागरिक नेपाल आएर ध्यान प्रशिक्षण लिने गर्छन्। यसले नेपाललाई विश्वको आध्यात्मिक यात्रामा मजबुत रूपमा उभ्याएको छ।

नेपालभित्र ९० भन्दा बढी ओशो तपोवनका केन्द्र सञ्चालनमा छन् भने अमेरिका, अष्ट्रेलिया, रुस, युरोप र एसियाका विभिन्न देशहरूमा यसको शाखा विस्तार भइसकेको छ।

ध्यानमार्फत पर्यटन र आर्थिक योगदान

ध्यान सिक्न आउने विदेशी साधकहरूले नेपालमा बसोबास, खानपान, यातायात, पर्यटन सेवा र स्थानीय उत्पादनमा खर्च गर्ने भएकाले यसले प्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ। अध्यात्मिक पर्यटन आज नेपालको सम्भावनायुक्त क्षेत्र बनेको छ।

स्वामी आनन्द अरुणको पहलले नेपाल केवल धार्मिक पर्यटनको गन्तव्य मात्र नभई मानसिक स्वास्थ्य, शान्ति र चेतनाको केन्द्रका रूपमा विश्वमा चिनिन थालेको छ। यसबाट नेपाल सरकारलाई समेत आर्थिक र कूटनीतिक रूपमा फाइदा पुगेको छ।

स्वामी आनन्द अरुणले सन् २०१४ देखि नै अन्तर्राष्ट्रिय ध्यान दिवसको अवधारणा अघि सार्दै आउनुभएको थियो। उहाँले नेपाल सरकारलाई पहिला राष्ट्रिय ध्यान दिवस घोषणा गर्न र त्यसपछि अन्य बौद्ध तथा शान्तिप्रिय राष्ट्रहरूसँग सहकार्य गर्दै संयुक्त राष्ट्र संघमा प्रस्ताव लैजान सुझाव दिनुभयो।

यस अभियानका क्रममा उहाँले नेपालका सबैजसो प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा भेटेर ध्यान दिवसको महत्व बुझाउने दस्तावेज प्रस्तुत गर्नुभयो। विदेश भ्रमणका क्रममा सांसद, सिनेटर, राजदूत र अन्तर्राष्ट्रिय समुदायसँग संवाद गर्दै ध्यानलाई विश्वव्यापी अभियानका रूपमा स्थापित गर्नुभयो।

२०१९ मा अमेरिकाको भर्जिनिया राज्यले ध्यानप्रति उहाँको योगदानको सम्मान गर्दै अप्रिल ३० लाई ध्यान दिवसको रूपमा मान्यता दिनु पनि उहाँको अभियानको महत्वपूर्ण उपलब्धि थियो।

अन्ततः डिसेम्बर ७, २०२४ मा संयुक्त राष्ट्र संघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गर्‍यो।

ध्यानः इतिहासदेखि आधुनिक युगसम्म

स्वामी आनन्द अरुणका अनुसार ध्यानको इतिहास अत्यन्त प्राचीन छ।उहाँ भन्नुहुन्छ, ‘ध्यानका पहिलो गुरु शिव हुन्, जसले ११२ ध्यान पद्धति विकास गरेका थिए। पतञ्जलीले योगमार्फत ध्यानसम्मको बाटो देखाए। गोरखनाथले ध्यानमा नयाँ आयाम थपे,’ ।

ओशोले आधुनिक युगका लागि करिब ६०० ध्यान पद्धति विकास गरे, जुन आजको तनावपूर्ण जीवनशैलीसँग अत्यन्त सान्दर्भिक छन्। ‘आज शारीरिक श्रम घट्दै गएको छ, मानसिक तनाव बढ्दै गएको छ। त्यसैले ध्यान आज विलासिता होइन, आवश्यकता हो,’ उहाँको भनाइ छ।

विश्व ध्यान दिवसको पूर्व सध्यामा ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा स्वामी आनन्द अरुणले युवामा बढ्दो असन्तुष्टि, राजनीतिक अस्थिरता र अदूरदर्शी नेतृत्वप्रति चिन्ता व्यक्त गर्नुहुँदै ध्यानलाई समाधानको बाटोका रूपमा लैजान आग्रह गर्नुभयो ।

‘हामी प्राकृतिक स्रोतले धनी छौँ, तर सुनखानीमा बसेर भिख मागिरहेका छौँ। ध्यानले नकारात्मक ऊर्जा हटाएर समाजमा शान्ति स्थापना गर्छ,’ उहाँले भन्नुभयो।


आनन्द अरुणले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अब राज्यले ध्यानलाई नीति, योजना र राष्ट्रिय पहिचानको रूपमा अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । बुद्ध जन्मभूमि, हिमालय र ध्यानको ऐतिहासिक पृष्ठभूमि बोकेको नेपाल विश्वकै ध्यान राजधानी बन्न सक्ने पूर्ण सम्भावना भएको उहाँको विश्वास छ।


ध्यानको उद्गमस्थल भारतीय उपमहाद्वीप र हिमालय क्षेत्र भएकाले नेपालसँग ‘ध्यानको राजधानी’ बन्ने प्रचुर सम्भावना रहेको स्वामी अरुणको भनाइ छ।

उहाँले भन्नुभयो, ‘अहिले मुस्लिम देशहरूले समेत ध्यानलाई धर्म नभएर विज्ञानका रूपमा स्वीकारिसकेका छन्। तपोवनमा मात्रै ११० भन्दा बढी देशका साधकहरू आइसकेका छन्। अब राज्यले नै अपनत्व लिएर नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ।’

ध्यानबारे बोधिसत्त्व स्वामी आनन्द अरुण भन्नुहुन्छ, “ध्यान भनेको आत्मा र परमात्मा बीचको संवाद हो। जब हामी ध्यान गर्छौँ, हाम्रो चित्त शान्त हुन्छ र हृदय प्रेमले भरिन्छ। यही शान्त मन नै जीवनमा वास्तविक खुशी ल्याउने स्रोत हो।”

उहाँले गत वर्ष पहिलो विश्व ध्यान दिवस मनाउने क्रममा नेपालमा योग र ध्यानलाई समग्र रूपमा प्रवर्द्धन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै, युरोपियन युनियन जस्तै एसियन युनियन गठन भएमा एसियामा समृद्धि, आपसी भाईचारा र सहअस्तित्वको विकास हुने हुँदा अध्यात्मसँगै आर्थिक उन्नति हुने बताउनुभएको थियो ।त्यसैगरी उहाँले ध्यान–योगका लागि छुट्टै मन्त्रालय स्थापना गर्न तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई आग्रह समेत गर्नुभएको थियो।

स्वामी आनन्द अरुणले विगत ११ वर्षदेखि नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ बनाउन लागिपर्नुभएको छ । नेपाल सरकारलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय कार्यक्रमका लागि समेत उहाँले नेतृत्व र सुझावबारे मार्गदर्शन प्रदान गर्दै आउनुभएको छ ।

उहाँको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भनेकै सन् २०२४ डिसेम्बर ७ मा संयुक्त राष्ट्र संघको महासभाबाट डिसेम्बर २१ लाई औपचारिक रूपमा ‘विश्व ध्यान दिवस’का रूपमा घोषणा गराउन सफल हुनु हो। यस महान् उपलब्धिका लागि उहाँले विगत ११ वर्षदेखि निरन्तर रूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग गहन परामर्श गर्नुभयो, नेपाल सरकारसमक्ष पटक–पटक औपचारिक प्रस्ताव प्रस्तुत गर्नुभयो र ध्यानलाई विश्वका हरेक देश, समाज र घर–घरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्नुभयो।

स्वामी आनन्द अरुणको दृष्टि केवल ‘विश्व ध्यान दिवस’को घोषणासम्म सीमित छैन। उहाँले एशियाका मुलुकहरूको विकास, र सुरक्षा सुनिश्चित गर्न ‘एशियन युनियन’ गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सार्नुभएको छ। यसले एशियाली राष्ट्रहरूबीच सहकार्य र भाईचाराको भावना मजबुत बनाउने मात्र होइन, नेपालको नेतृत्व, कूटनीतिक पहलको भूमिकामा स्थापित गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

स्वामी आनन्द अरुणले भन्नुभयो, “एसियाली देशहरूको समन्वय र सहयोगले क्षेत्रीय शान्ति, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न सक्छ। यसमा आध्यात्मिक चेतना पनि जोडिँदा, एसियाले केवल भौतिक विकास मात्र होइन, आध्यात्मिक र मानसिक विकासमा पनि फड्को मार्न सक्छ।”

उहाँको अर्को महत्वपूर्ण पहल भनेको नेपालमा अन्तर्राष्ट्रिय स्तरको ध्यान तथा योग विश्व विद्यालयको स्थापना गर्नु हो। यसले विदेशी विद्यार्थीलाई नेपाल तिर आकर्षित गरी पर्यटन र डलर आम्दानीमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

स्वामी आनन्द अरुणले आध्यात्मिक चेतनालाई केवल साधनामा सीमित नराखी सरकारी तथा नागरिक जीवनको समग्र सुधारसँग जोडेर अघि बढ्नुपर्ने दृष्टिकोण पनि प्रस्तुत गर्नुभएको छ। उहाँको प्रस्ताव अनुसार सरकारी कर्मचारीका लागि सात दिनको तलबसहितको ध्यान तथा योग कार्यक्रम अनिवार्य रूपमा सुरु गरिनुपर्छ, जसले व्यक्तिगत आचरण सुधार्न, कार्यक्षमता बढाउन र अन्ततः भ्रष्टाचारमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

त्यसैगरी, विद्यालय तथा कलेजका पाठ्यक्रममा योग, ध्यान र आध्यात्मिक शिक्षालाई समेटिनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ। यसले बालबालिका र युवामा नैतिकता, अनुशासन र आत्मबोधको विकास गराउँदै भविष्यका नागरिकलाई सुसंस्कृत, संवेदनशील र जागरूक बनाउने अपेक्षा गरिएको छ।

उहाँको निरन्तर पहलले नेपालका सातै प्रदेशमा ओशो कम्युन र ७७ वटै जिल्लामा ध्यान केन्द्र स्थापना गर्ने अभियान ९५ प्रतिशत सम्पन्न भएको छ। यस प्रभावकारी प्रयासले नेपालभित्र मात्र होइन, विश्वका विभिन्न मुलुकका साधक र ध्यानप्रेमीहरूलाई पनि ध्यान र योग सिक्न नेपालतर्फ आकर्षित गरेको छ।

स्वामी आनन्द अरुणको निरन्तर योगदानले नेपाललाई केवल ध्यानको केन्द्र मात्र नभई, आध्यात्मिक शिक्षाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने दिशामा अग्रसर बनाएको छ।

स्वामी आनन्द अरुणका अनुसार, गाँजा कानूनी हुनु आवश्यक छ। उहाँको दृष्टि अनुसार, “गाँजा कानूनी भएपछि देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ। यसले कर प्रणाली सुदृढ पार्न, रोजगारी सिर्जना गर्न र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिन सक्छ।”

जसरी कृष्ण–अर्जुन संवाद गीता बनेर विश्वलाई मार्गदर्शन गर्‍यो, त्यसैगरी अष्टावक्र–जनक संवाद चेतनाको सर्वोच्च ग्रन्थ भएको उहाँको दृष्टि छ। उहाँले भन्नुभयो, 'कृष्ण र अर्जुनबीचको संवाद भगवद् गीता भएझैँ, राजा जनक र ऋषि अष्टावक्रबीचको गहिरो दार्शनिक संवाद अष्टावक्र महागीता हो। राजा जनक र ऋषि अष्टावक्र दुवै नेपाली भएकोले अष्टावक्र महागीतालाई नेपालको राष्ट्रिय पुस्तक घोषणा गर्नुपर्छ ।'

त्यसैगरी, स्वामी आनन्द अरुणले सरकारी कर्मचारीका लागि सात दिनको तलबसहितको ध्यान र साधनाको बिदा अनिवार्य गर्नुपर्ने सुझाव दिनुभएको छ। उहाँका अनुसार, यसले कर्मचारीको कार्यशैलीमा सुधार ल्याउने मात्र होइन, मानसिक स्वास्थ्य सुदृढ पार्ने र अन्ततः भ्रष्टाचार घटाउनेमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।

उहाँका यी सुझावहरू नेपालमा आध्यात्मिक चेतना, सांस्कृतिक पहिचान र आर्थिक विकासलाई एकसाथ अघि बढाउने प्रयासको हिस्सा मानिएका छन्।

स्वामी आनन्द अरुणको पहलहरूले नेपाललाई केवल ध्यान र आध्यात्मिक अभ्यासको केन्द्र बनाउने मात्र होइन, देशको आर्थिक र सामाजिक प्रगतिका लागि नयाँ मार्ग पनि देखाएको छ ।

विश्व ध्यान दिवस र नेपालको आध्यात्मिक सम्भावना

‎गत वर्ष संयुक्त राष्ट्रसङ्घले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रुपमा मनाउने निर्णय गर्यो। उक्त निर्णयको पहिलो वर्षबाट नै नेपालमा पनि यस दिनलाई भव्यताका साथ मनाउने संकल्प गरिएको थियो । गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा र ओशो तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणको विशिष्ठ आतिथ्यतामा ध्यानको अभ्यास गर्दै ध्यानको महत्व र नेपालको आध्यात्मिक सम्भावनाको चर्चा गरिएको थियो । यस वर्ष पनि टुँडिखेल मैदानमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री सुशिला कार्कीकाे विशेष उपस्थितिमा बोधिसत्व स्वामी आनन्द अरुणलाई प्रमुख वक्ताको रूपमा निमन्त्रणा गरिएको छ। उक्त अवसरमा ओशोले दिनुभएका केही ध्यानको प्रयोग सहित ध्यान दिवसलाई विशेष रूपले मनाउन गईरहेका छौं।

आधुनिक जीवनशैलीमा ध्यान अपरिहार्य भईसकेको छ। तनाव र मानसिक समस्या विश्वकै समस्या बन्दै गईरहेको देखेर नै संयुक्त राष्ट्रसंघले विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो। पश्चिमा राष्ट्रहरूमा आधुनिक विकासले सम्पन्नता र भौतिक सुख ल्याए पनि मानिसमा आन्तरिक सुख र स्थिरता भने ल्याउन सकेन। भौतिक सुखको भागदौडमा मानिसले हाँस्न र खुसी हुने कला भुलिसकेको छ भने डिप्रेसन, एङजायटी जस्ता अनेक मानसिक रोगको सिकार हुन पुगेको छ। स्ट्रेसबाट मुक्ति र गहिरो निन्द्राको लागि पनि मानिसले दबाई या नसालु पदार्थको सहारा लिन बाध्य हुनुपरेको छ, जसको नकारात्मक प्रभाव शरीरमा पनि देखापरिरहेको कारण अनेक रोगहरू जन्मिरहेका छन्।
‎
‎अमेरिकामा हाल मानसिक रोग (डिप्रेसन) ३० प्रतिशत मानिसहरूमा देखा परिसकेको छ भने बेलायतमा १८ प्रतिशत युवा यस समस्यामा परिसकेका छन्। विश्वभरि मानसिक समस्या प्रत्येक वर्ष बढिरहेको छ र मानसिक समस्या विश्वको प्रमुख समस्याको रुपमा देखापर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ। आर्थिक समुन्नतिसँगै मानिसले विलास र मस्तिको खोज गर्दछ जसक्रममा ऊ अल्कोहल, ड्रग्स आदि नशालु पदार्थ र अप्राकृतिक जीवनशैली अपनाउन पुग्दछ। जसका कारण अनेक शारीरिक र मानसिक समस्या निम्तन्छन् । डर, रिस, स्ट्रेस डिप्रेसन, अनिद्रा जस्ता अनेक समस्या हाल विश्वभरि जल्दो बल्दो समस्याका रुपमा देखा परिरहेका छन्। यी अनेक मानसिक र शारीरिक समस्याको समाधान पूर्वीय दर्शन, योग, प्राणायाम र ध्यानले गर्न सक्छ। दबाई, अल्कोहल या ड्रग्स बिना नै यी मानसिक र शारीरिक समस्याको समाधान पूर्वीय दर्शन योग, प्राणायाम र ध्यान बाट सम्भव छ । कुनै केमिकल बिना नै यी मानसिक र शारीरिक समस्या समाधान हुन सक्छ र मानिस सुखी र आनन्दित जीवन बाँच्न सक्छ भनेर बुझाउने अवसर पूर्वीय दर्शन अनुपालन गर्ने हामीहरूलाई अब प्राप्त भएको छ। ध्यानलाई हिन्दू पद्धति मानेर विगतमा उपेक्षा गरिए पनि अब भने यसको सान्दर्भिकता विश्वभरि हुन पुगेको छ, जसको फलस्वरूप संयुक्त राष्ट्र संघमा विश्व  ध्यान दिवसको प्रस्ताव निर्विरोध रुपमा पारित भएको थियो। ध्यानको उपयोग अब बिस्तारै मानसिक स्वास्थ्य सँगसँगै परम शान्ति र मोक्षको लागि पनि हुँदै जाने देखिन्छ।
‎
‎हाम्रा गुरु ओशोले पनि ध्यानका सयौं पद्धति विकास गर्नुभएको छ। अन्तर्मनबाट रिप्रेषन, दमित भाव विकारहरू निकाल्ने डाइनामिक, जीवरिस जस्ता कथारटिक ध्यानहरु छन् भने नो माइन्ड, मिस्टिक रोज जस्ता गहिरा मनो(थेरापीहरु पनि तपोवनमा हरेक सप्ताह चलिरहेका छन्।  ध्यान गर्न आउने स्वदेशी तथा विदेशी साधकहरुले ती अभ्यास मार्फत तनाव विसर्जन भई अपूर्व शान्ति र आनन्द मिल्ने गरेको बताउनु हुन्छ। आत्ममनिरिक्षण एबम् जागृतिको लागि पनि ओशोले नियो विपासना, स्टप मेडिटेसन, गौरीशंकर ध्यान र साक्षिका अनेक ध्यान विधिहरु दिनुभएको छ। उहाँका ७०० पुस्तक भित्र सन्दर्भ अनुसार कुनै न कुनै ध्यान विधि भेटिएकै हुन्छ। यस हिसाबले ओशो ध्यानका मसिहा नै हुनुहुन्छ। यो नेपालको लागि सौभाग्य हो कि ओशोको दर्शन र आध्यात्मिक अभियान हाल नेपालमा जीवन्त छ। नेपालभर ओशोका तीन कम्युन र १०० वटा ध्यान केन्द्रहरू खुलिसकेका छन्। हामीले विश्वलाई ध्यान र आत्मजागरणको उपहार दिन सक्छौं जसबाट नेपाल आध्यात्मिक गन्तव्यका रुपमा विकसित हुन सक्छ। नेपालको मौसम र प्रकृति पनि ध्यानको लागि उपयुक्त मानिन्छ भने यो प्राचीन समयदेखि नै आध्यात्मिक क्षेत्र नै रहेकोले आत्म रूपान्तरणको लागि विश्वकै प्रथम गन्तव्यको रुपमा विकास गर्न सकिन्छ।
‎
‎नेपालका राजनीतिक व्यक्तित्वहरू र मन्त्रीस्तरीय व्यक्तिहरूमा पनि अध्यात्म प्रति झुकाव र आकर्षण देखिन्छ जुन अन्य कुनै देशमा देखिएको छैन । प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, उपसचिव ज्यूहरूको ओशो तपोवनमा आगमनले यो पुष्टि गरिरहेको छ र नेपाललाई भोलिको दिनमा आध्यात्मिक गन्तव्यको रुपमा उहाँहरुले विकसित गर्दै लैजाने कुरामा हामी विश्वस्त छौं। यस उद्देश्यको निम्ति तपोवन नेपाल सरकारको प्रमुख सहयात्री बन्न हरदम तयार रहनेछ। शिक्षा मन्त्रालय मार्फत स्कुल स्तरमा ध्यानका पद्धतिहरू सिलेबसमा समावेश गर्ने प्रयासमा हाल हामी लागि परेका छौं।
‎
‎प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भेट हुँदा बोधिसत्व स्वामी आनन्द अरुणले विगत १० वर्ष देखि बारम्बार नेपालमा राष्ट्रिय ध्यान दिवस मनाउन र विश्व ध्यान दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा लैजानको निम्ति आग्रह गरिरहनुभएको थियो । संयुक्त राष्ट्र संघका महासचिव अन्टोनियो गुटरेज सन् २०२३ अक्टोबरमा नेपाल भ्रमणमा आउनुभएको थियो। तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जो ओशो प्रेमी हुनुहुन्छ र तपोवन आइरहनुहुन्छ, उहाँले उक्त प्रस्ताव गुटरेज समक्ष राख्नुभएको थियो। गुटरेजले सो प्रस्तावलाई सकारात्मक रुपमा लिँदै यूएन मा लैजानु भयो । युएन महासभाले २०२४ डिसेम्बर ६ मा उक्त प्रस्ताव पारित गरि २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रुपमा मनाउने निर्णय गर्यो। यस पवित्र कार्यको लागि सबैले नारायणकाजी र गुटरेजलाई धन्यवाद दिनुपर्दछ भने यसका प्रमुख प्रेरणाश्रोत बोधिसत्व स्वामी आनन्द अरुण रहनुभएकोले सर्वदा पुजित रहनुहुनेछ। उहाँकै तपस्या र अनवरत प्रयासले ध्यान अब विश्वजगतको हरेक देश र हरेक नागरिकले स्वीकार्ने महत्वपूर्ण विषय बन्न पुगेको छ।