स्वामी कृष्ण मोहन
गत वर्ष संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’का रूपमा मनाउने ऐतिहासिक निर्णय गर्यो। उक्त निर्णयको पहिलो वर्षदेखि नै नेपालमा पनि यस दिनलाई भव्य रूपमा मनाउने संकल्प गरिएको थियो। गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा तथा ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणज्यूको विशिष्ट आतिथ्यतामा ध्यान अभ्याससहित ध्यानको महत्व र नेपालको आध्यात्मिक सम्भावनाबारे गहन चर्चा गरिएको थियो।

यस वर्ष पनि टुँडिखेल मैदानमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री सुशिला कार्कीज्यूको विशेष उपस्थितिमा विश्व ध्यान दिवस मनाइँएको छ । उक्त अवसरमा बोधिसत्त्व स्वामी आनन्द अरुणज्यूलाई प्रमुख वक्ताका रूपमा रहनुहुने कार्यक्रममा ओशोले प्रतिपादन गर्नुभएका केही ध्यान प्रयोगमार्फत यस दिवसलाई अझ अर्थपूर्ण बनाइनेछ।

आजको आधुनिक जीवनशैलीमा ध्यान अपरिहार्य आवश्यकता बनिसकेको छ। तनाव, चिन्ता र मानसिक समस्या विश्वव्यापी चुनौतीका रूपमा बढ्दै गएकै कारण संयुक्त राष्ट्रसङ्घले विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो। पश्चिमी राष्ट्रहरूमा आधुनिक विकासले भौतिक सम्पन्नता र सुविधा त ल्यायो, तर मानिसको जीवनमा आन्तरिक सुख, शान्ति र स्थिरता ल्याउन भने सकेन। भौतिक सुखको अन्धाधुन्ध दौडमा मानिस हाँस्ने र खुसी हुने कला नै बिर्सिंदै गएको छ। परिणामस्वरूप डिप्रेसन, एङ्जायटी, अनिद्रा जस्ता मानसिक समस्याहरू तीव्र रूपमा बढिरहेका छन्।

स्ट्रेसबाट मुक्ति र गहिरो निद्राका लागि मानिस औषधि वा नशालु पदार्थको सहारा लिन बाध्य भइरहेको छ, जसका नकारात्मक प्रभाव शरीर र मन दुबैमा देखापर्न थालेका छन्। अमेरिकामा करिब ३० प्रतिशत मानिस डिप्रेसनबाट पीडित भइसकेका छन् भने बेलायतमा १८ प्रतिशत युवा यस समस्यामा परेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक समस्या अब विश्वकै प्रमुख स्वास्थ्य चुनौती बन्दै गएको छ।
आर्थिक समृद्धिसँगै विलासिता र मस्तिको खोजमा मानिस अल्कोहल, ड्रग्स तथा अप्राकृतिक जीवनशैलीतर्फ आकर्षित हुँदै गएको छ, जसले अनेक शारीरिक र मानसिक रोगहरू जन्माइरहेको छ। डर, रिस, तनाव, डिप्रेसन र अनिद्रा जस्ता समस्या आज विश्वभर जल्दोबल्दो विषय बनेका छन्। यी समस्याको दीर्घकालीन र प्राकृतिक समाधान भने पूर्वीय दर्शन, योग, प्राणायाम र ध्यानमा निहित छ। कुनै केमिकल, औषधि वा नशालु पदार्थबिनै मानिसलाई स्वस्थ, सन्तुलित र आनन्दित जीवनतर्फ डो¥याउने सामर्थ्य ध्यानसँग छ।
विगतमा ध्यानलाई केवल हिन्दू धार्मिक अभ्यासका रूपमा बुझेर उपेक्षा गरिए पनि आज यसको वैज्ञानिक र सार्वभौमिक महत्व विश्वले स्वीकार गरिसकेको छ। यही कारण संयुक्त राष्ट्रसङ्घमा विश्व ध्यान दिवसको प्रस्ताव निर्विरोध रूपमा पारित हुन सक्यो। अब ध्यान केवल मानसिक स्वास्थ्यका लागि मात्र होइन, आन्तरिक शान्ति, आत्मजागरण र मोक्षको मार्गका रूपमा पनि विस्तार हुँदै जाने देखिन्छ।
हाम्रा गुरु ओशोले ध्यानका सयौँ विधिहरू विकास गर्नुभएको छ। अन्तर्मनमा दबिएका भावनाहरू विसर्जन गर्न डाइनामिक, जिब्रिस जस्ता क्याथार्सिस ध्यानहरू छन् भने ‘नो माइन्ड’, ‘मिस्टिक रोज’ जस्ता गहिरा मनो–थेरापी अभ्यासहरू ओशो तपोवनमा नियमित रूपमा सञ्चालन भइरहेका छन्। ती अभ्यासमार्फत स्वदेशी तथा विदेशी साधकहरूले तनावमुक्त भई अपूर्व शान्ति र आनन्द अनुभूति गरिरहेको बताउने गर्छन्।
आत्मनिरीक्षण र जागृतिका लागि ओशोले नियो विपासना, स्टप मेडिटेसन, गौरीशंकर ध्यान, साक्षी ध्यानजस्ता विधिहरू दिनुभएको छ। उहाँका करिब ७०० पुस्तकहरूमा कुनै न कुनै ध्यान विधि सन्दर्भअनुसार पाइन्छ। यस अर्थमा ओशो ध्यानका एक महान् प्रवर्तक हुनुहुन्छ। ओशोको दर्शन र आध्यात्मिक अभियान आज नेपालमा जीवन्त रूपमा सक्रिय हुनु हाम्रो देशका लागि ठूलो सौभाग्य हो। हाल नेपालभर ओशोका तीन कम्युन र करिब १०० ध्यान केन्द्र सञ्चालनमा आइसकेका छन्।
नेपालको प्राकृतिक सौन्दर्य, मौसम र प्राचीन आध्यात्मिक परम्परा ध्यान र आत्मरूपान्तरणका लागि अत्यन्त उपयुक्त छन्। विश्वलाई ध्यान र आत्मजागरणको उपहार दिन सक्ने सामर्थ्य नेपालसँग छ, जसबाट नेपाल विश्वकै प्रमुख आध्यात्मिक गन्तव्यका रूपमा विकसित हुन सक्छ।
नेपालका राजनीतिक नेतृत्व र उच्च प्रशासकीय तहमा समेत अध्यात्मप्रतिको आकर्षण देखिनु अन्य देशका तुलनामा विशिष्ट पक्ष हो। प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव र उपसचिवहरूको ओशो तपोवनमा हुने नियमित आगमनले यस तथ्यलाई पुष्टि गर्छ। यसले भविष्यमा नेपाललाई आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न राजनीतिक इच्छाशक्ति समेत तयार हुँदै गएको संकेत गर्दछ। यस अभियानमा तपोवन नेपाल सरकारको प्रमुख सहयात्री बन्न सधैँ तत्पर रहनेछ। शिक्षा मन्त्रालयमार्फत विद्यालय तहको पाठ्यक्रममा ध्यानका अभ्यास समावेश गर्ने प्रयाससमेत अघि बढिरहेको छ।
बोधिसत्त्व स्वामी आनन्द अरुणज्यूले विगत एक दशकदेखि नेपालमा राष्ट्रिय ध्यान दिवस मनाउन र विश्व ध्यान दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा लैजान निरन्तर पहल गर्दै आउनुभएको थियो। सन् २०२३ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउँदा तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूले उक्त प्रस्ताव उहाँसमक्ष प्रस्तुत गर्नुभएको थियो। गुटेरेसज्यूले यसलाई सकारात्मक रूपमा लिँदै संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव लगेपछि सन् २०२४ डिसेम्बर ६ मा महासभाबाट पारित भई डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरियो।
यस पवित्र कार्यका लागि नारायणकाजी श्रेष्ठज्यू र एन्टोनियो गुटेरेसज्यू धन्यवादका पात्र हुनुहुन्छ भने यस अभियानका मूल प्रेरणास्रोत बोधिसत्त्व स्वामी आनन्द अरुणज्यू सदैव श्रद्धेय रहनुहुनेछ। उहाँको तपस्या, दृढता र अनवरत प्रयासले आज ध्यान विश्वका हरेक देश र हरेक नागरिकले स्वीकार गर्ने सार्वभौमिक विषय बन्न पुगेको छ।
