बागलुङ–२ बाट ‘जेन–जी’ आन्दोलनका अगुवा सोम शर्मा संसदीय चुनावको मैदानमा होमिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनमा अग्रपंक्तिमा उभिएका शर्मा परिवर्तनका लागि संघर्षरत युवा अभियन्ताका रूपमा चिनिन्छन्। आन्दोलनका क्रममा खुट्टामा गोली लागे पनि उनी विचलित भएनन्। अब सडकमा उठेको आवाज संसद्मार्फत उठाउने उद्देश्यसहित उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
शर्माले बागलुङ–२ लाई दशकौँदेखि ‘विकट’ र ‘दुर्गम’ भन्दै उपेक्षा गरिएको क्षेत्रको रूपमा चित्रण गर्दै आएका छन्। उनले यो निर्वाचन केवल जित–हारको विषय नभई जनताको पीडामाथि गरिएको राजनीतिलाई अन्त्य गर्ने अवसर भएको बताए।
सामाजिक अभियन्ताका रूपमा सक्रिय शर्माले बागलुङका विभिन्न गाउँबस्ती र सामुदायिक विद्यालयमा पुगेर सामाजिक सेवा पनि गर्दै आएका छन्। भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर आवाज उठाउँदै आएका शर्माको उम्मेदवारीलाई युवापुस्ताले विशेष चासोका साथ हेरेका छन्।
बागलुङ–२ मा सोम शर्माको उम्मेदवारीले परम्परागत राजनीतिमा चुनौती थपिएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।
