गोरखा । गोरखाको पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिक्षकहरूका लागि चारदिने योग, ध्यान तथा तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। माघ २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त आवासीय कार्यक्रम नगर प्रमुख विवश चिन्तनबाट उद्घाटन गरिएको थियो। उद्घाटन सत्रमा उपमेयर बन्दना पाण्डे पनि सहभागी हुनुहुन्थ्यो।

स्वामी आनन्द अर्हदको सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा करिब ६० जना शिक्षक तथा साधकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पालुङटार नगरपालिकासहित बन्दिपुर गाउँपालिका, भानुपुर गाउँपालिका, तनहुँ, लमजुङ र गोरखाका साधकहरूको उपस्थिति रहेको जनाइएको छ।

नगर क्षेत्रमा आत्महत्या र विभिन्न मानसिक स्वास्थ्य समस्याका घटना बढ्दै गएको सन्दर्भमा यस्ता समस्या न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ। तालिमका क्रममा ओशोका विभिन्न ध्यान विधि अभ्यास गराइनुका साथै तनाव व्यवस्थापन सम्बन्धी व्यवहारिक उपायहरू सिकाइएको थियो।

कार्यक्रममा सहभागी शिक्षक अशोक पन्तले योग, ध्यान तथा तनाव व्यवस्थापन कार्यक्रम अत्यन्त प्रभावकारी लागेको बताउनुभयो। “हामी सास फेर्न पनि नजानेको अवस्थामा आएका थियौं, तर अब कसरी योग गर्ने, कसरी ध्यान गर्ने र तनावलाई कसरी हटाउने भन्ने कुरा सिक्यौं,” उहाँले भन्नुभयो।
अर्का सहभागी डा. रविन्द्र कडेलले शिक्षकमार्फत बालबालिका र समुदायस्तरसम्म यस्ता कार्यक्रम विस्तार हुँदा मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।

नगरपालिकाले आगामी दिनमा पनि मानसिक स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
