ऐतिहासिक जिम्मेवारी पूरा गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । अस्थिरता र नेतृत्व शून्यताको कठिन घडीमा देशको कार्यकारी जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउँदै आफ्नो मुख्य दायित्व पूरा गरेकी छन्। देशमा राजनीतिक संकट गहिरिएको, निर्वाचित प्रधानमन्त्री पद छाडेर बाहिरिएको र राज्य संयन्त…

ऐतिहासिक जिम्मेवारी पूरा गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । अस्थिरता र नेतृत्व शून्यताको कठिन घडीमा देशको कार्यकारी जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउँदै आफ्नो मुख्य दायित्व पूरा गरेकी छन्।

देशमा राजनीतिक संकट गहिरिएको, निर्वाचित प्रधानमन्त्री पद छाडेर बाहिरिएको र राज्य संयन्त्र अलमलमा परेको परिस्थितिमा कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। त्यसबेला देशलाई स्थिरता र राजनीतिक निकासतर्फ लैजानुपर्ने चुनौतीपूर्ण जिम्मेवारी उनको काँधमा आएको थियो।

उनको नेतृत्वमा प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा लगभग सम्पन्न भइसकेको छ। अहिले मतदान प्रक्रिया टुंगिएसँगै मतगणनाको तयारी भइरहेको छ। मतगणना सम्पन्न भएपछि नयाँ प्रतिनिधि सभाको गठन हुनेछ र सोही संसदले नयाँ प्रधानमन्त्री चयन गर्नेछ। त्यसपछि कार्कीले औपचारिक रूपमा आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नेछिन्।

कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा राजनीतिक वातावरण निकै तनावपूर्ण थियो। प्रमुख राजनीतिक दलहरूबीच अविश्वास, आन्दोलनरत पक्षको दबाब तथा विभिन्न समूहको असहयोगका कारण परिस्थिति जटिल बनेको थियो। कतिपय दलले उनलाई प्रधानमन्त्रीका रूपमा सहज रूपमा स्वीकार गर्न नसकेको अवस्था पनि देखिएको थियो।

यस्तै, आन्दोलनका क्रममा दमनमा संलग्न भनिएका व्यक्तिहरूमाथि तत्काल कारबाही गर्नुपर्ने मागसहित आन्दोलनकारी पक्षबाट चर्को दबाब पनि आइरहेको थियो। यस्तो अवस्थामा सरकार सञ्चालन गर्नु र देशलाई निर्वाचनतर्फ लैजानु चुनौतीपूर्ण काम थियो।

राजनीतिक नेतृत्वबाटै तोकिएको समयमा निर्वाचन सम्भव नहुने अभिव्यक्ति आउने, आन्दोलनरत समूहले आफ्ना माग तत्काल पूरा गराउन दबाब दिने तथा सुरक्षा निकायको मनोबल समेत कमजोर देखिने जस्ता परिस्थितिका बीच पनि सरकारले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।

यस्ता कठिन अवस्थाबीच पनि कार्कीले देशलाई निर्वाचन सम्पन्न गर्ने चरणसम्म पुर्‍याएकी छन्। अब नयाँ संसद गठन भएसँगै जननिर्वाचित सरकार बन्नेछ।

नयाँ सरकार बनेपछि देशका राजनीतिक विवाद समाधान गर्ने र आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने अपेक्षा गरिएको छ।