ओखलढुंगा–१ बाट प्रतिनिधिसभा सदस्यमा ५ मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्व एआईजी विश्वराज पोखरेललाई आध्यात्मिक तथा दार्शनिक कृति ‘अष्टबक्र महागीता’ हस्तान्तरण गरिएको छ।
ओशोका पुस्तकहरू पढ्न रुचाउने पोखरेललाई तपोवन पब्लिकेशनले उक्त कृति उपलब्ध गराएको हो।
पुस्तक हस्तान्तरणका क्रममा पब्लिकेशनले पोखरेलसँग प्राचीन भारतीय दर्शनको सन्दर्भ उल्लेख गर्दै भगवान कृष्ण र अर्जुनबीचको संवादबाट उत्पन्न भएको गीता ज्ञानको चर्चा गरेका थिए । त्यससँगै प्राचीन कालमा राजा जनकले राज्य सञ्चालन र जीवनबारे ज्ञान प्राप्त गर्न ऋषि अष्टबक्रसँग गरेको संवाद पनि स्मरण गरिएको थियो। जनकले अष्टबक्रका केही श्लोक सुनेपछि परमज्ञान प्राप्त गरेको प्रसंग उल्लेख गरिएको छ।
दार्शनिक गुरु ओशोले ‘अष्टबक्र महागीता’लाई जीवनको गहिरो सत्य बुझाउने महत्त्वपूर्ण ग्रन्थका रूपमा व्याख्या गरेका छन्। यसलाई तपोवन पब्लिकेशनले ‘बुक अफ नेपाल’ नाममा यो कृति प्रकाशित गरेको हो।
तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले ‘अष्टबक्र महागीता’लाई नेपालको परमज्ञानसँग जोडिएको कृति भएको भन्दै यसलाई राष्ट्रिय पुस्तकका रूपमा मान्यता दिनुपर्ने धारणा व्यक्त गर्दै आउनुभएको छ। उहाँका अनुसार रामायणलाई थाइल्याण्डले राष्ट्रिय पुस्तकको रूपमा सम्मान दिएको छ भने भारतमा कृष्ण र अर्जुनबीचको संवाद ‘गीता’लाई उच्च स्थान दिइएको छ।
अष्टबक्र र राजा जनक जनकपुर क्षेत्रसँग सम्बन्धित ऐतिहासिक पात्र भएकाले अष्टबक्रको ज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसलाई राष्ट्रिय पुस्तकका रूपमा स्थापित गर्नुपर्नेमा उहाँको जोड रहेको छ।
पुस्तक ग्रहण गर्दै सांसद पोखरेलले आफू तार्किक क्षमता विकास गर्न विभिन्न दार्शनिक पुस्तकहरू पढ्न विश्वास राख्ने व्यक्ति भएको बताउनुभयो। उहाँले ओशोका कृतिहरूले सोच्ने क्षमता र दृष्टिकोण विस्तार गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले नेपाली कांग्रेसका कुमार लुईटेललाई ५ मतले पराजित गर्दै विजय हासिल गर्नुभएको थियो। निर्वाचन परिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा लुईटेलले १३ हजार ९४८ मत पाउनुभएको थियो। यससँगै पोखरेल ओखलढुंगा–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
