ओली, देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिँदै, अघि बढ्यो प्रक्रिया

वालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूका परिवारमाथि विभिन्न कसुरमा अनुसन्धान तीव्र पारेको छ। जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै अनुसन्धानको दायरा अन्य नेतातर्फ पनि…

ओली, देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिँदै, अघि बढ्यो प्रक्रिया

वालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूका परिवारमाथि विभिन्न कसुरमा अनुसन्धान तीव्र पारेको छ। जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै अनुसन्धानको दायरा अन्य नेतातर्फ पनि विस्तार भएको हो।

यसै क्रममा नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्री तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का, साथै उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अनुसन्धान भइरहेको छ ।

यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान अघि बढाइएको छ ।

२४ भदौमा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा फेला परेका थिए ।

सो घटनापछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई पत्र पठाएको थियो । प्रारम्भिक अनुसन्धानको आधारमा तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ ।

यसैबीच सरकारले २०४८ सालयता राजनीतिक नेतृत्व र उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री कार्यालयअन्तर्गत अधिकार सम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा २०६२ सालयताका पदाधिकारी र दोस्रो चरणमा २०४८ देखि २०६२ सालसम्मका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने योजना सार्वजनिक गरिएको छ।