काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सुदूरपश्चिमको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ऐतिहासिक सफलता प्राप्त भएको बताएका छन्।

निरन्तरको अथक प्रयास र समन्वयपछि विश्वविद्यालय सञ्चालनतर्फ ऐतिहासिक सफलता हासिल भएको उनले उल्लेख गरेका छन्।

उनका अनुसार आगामी शैक्षिक सत्रदेखि ५० सिटको एमबिबिएस र ३० सिटको नर्सिङसहितका कक्षाहरू सुरु हुँदै छन्।

खनालका अनुसार विश्वविद्यालयका लागि ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित भइसकेको छ। साथै आर्थिक वर्ष २०८२/८३ को जेठ र असार महिनाका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट प्राप्त भइसकेको उनले जानकारी दिएका छन्।

उनले २५ गते बस्ने सिनेट बैठकका लागि अर्थ मन्त्रालयको पूर्वस्वीकृतिमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८२ तथा शिक्षक, कर्मचारी नियमावली स्वीकृत भएको पनि बताए। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको खनालको भनाइ छ।

उनका अनुसार आगामी शैक्षिक सत्रदेखि विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुनेछन्। जसअनुसार एमबीबीएसमा ५० सिट, नर्सिङमा ३० सिट, बी.एस्सी. एमएलटीमा २० सिट र बी. अप्टोमेट्रीमा २० सिट निर्धारण गरिएको छ।

खनालले यस उपलब्धिलाई सुदूरपश्चिममा स्वास्थ्य शिक्षा विस्तारका लागि महत्वपूर्ण कदम भन्दै सरोकारवालालाई बधाई तथा धन्यवाद दिएका छन्। उनले विश्वविद्यालय सञ्चालनले क्षेत्रीय स्वास्थ्य सेवा सुदृढ हुनुका साथै स्थानीय विद्यार्थीलाई अवसर सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।
