काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल गनेस, काठमाडौंको आशिष रजनीश मेडिटेशन सेन्टर पुगेर आध्यात्मिक सत्संगमा सहभागी हुनुभएको छ ।
गएको शनिबार पुग्नुभएका मन्त्री पौडेलले ओशोको तस्विर र मुर्तिमा ढोगेर प्रणाम गर्दै ध्यान–साधना र आत्मिक उन्नतिको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा उहाँले बोधिसत्व स्वामी आनन्द अरुण का कृतिहरूप्रति विशेष रुचि व्यक्त गर्दै सत्संग लगायतका पुस्तक पढ्ने इच्छा व्यक्त गर्नुभएको हो ।
मन्त्री पौडेलले स्वामी अरुणको सन्त गाथा पुस्तकले आफूलाई गहिरो रूपमा छोएको उल्लेख गर्दै त्यसले आध्यात्मप्रति आफ्नो आकर्षण अझ बढाएको बताउनुभयो । उहाँले आफू पनि कुनै समय गेरुवस्त्र र कमण्डलु बोकेर हिमालय यात्रा गरेको स्मरण गर्दै आफ्नो आध्यात्मिक पृष्ठभूमि समेत खुलाउनुभएको थियो ।
उहाँले प्रधानमन्त्री प्रमुख बालेन्द्र शाह को प्रशंसा गर्दै निस्वार्थ भावले साधना र समाजसेवामा लागेका व्यक्तिहरूलाई मन्त्रीपरिषदमा ल्याउनु सकारात्मक संकेत भएको बताउनुभयो । यस्ता व्यक्तिहरूको सहभागिताले समग्र नेतृत्व प्रणालीमा राम्रो सन्देश दिने विश्वास गरिएको छ ।
मन्त्री पौडेलको यस आध्यात्मिक झुकाव र अनुभवले संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
