काठमाडौं । बुद्ध पूर्णिमाको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल 'गनेस' र सभामुख डोलप्रसाद अर्याल लुम्बिनीस्थित ओशो जेतबन पुग्नुभएको छ ।

शुक्रवार बुद्ध जयन्तीको दिन पुग्नुभएका मन्त्री पौडेल र सभामुख अर्यालले बोधिसत्व स्वामी आनन्द अरुणसँग भेटवार्ता गर्नुभएको छ । भेटमा आध्यात्मिक साधना र समाजमा यसको सकारात्मक प्रभावबारे कुराकानी गर्नुभएको थियो ।

आध्यात्मिक रुपमा पहिचान बनाउनुभएका साधक समेत रहनुभएका मन्त्री पौडेलले यस्ता ध्यान केन्द्रहरूले मानव जीवनलाई सन्तुलित र शान्त बनाउने उल्लेख गर्नुभयो ।

सभामुख अर्यालले पनि स्वामी आनन्द अरुणसँगको भेटपछि तपोवन पुगेर ध्यान साधना गर्ने इच्छा व्यक्त गर्दै सांसदहरूलाई समेत ध्यान अभ्यासमा सहभागी गराउने विषयमा चासो देखाउनुभएको छ । केही सांसदहरूलाई ध्यान गराइसकेको अनुभवबारे जानकारी दिँदै उहाँले स्वामी अरुणको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

हालै मात्र उद्घाटन गरिएको, एक हजार जनासम्म क्षमता भएको ध्यान आश्रमको मन्त्री र सभामुखको टोलीले अवलोकन गरेका छन्। सो अवसरमा स्वामी आनन्द अरुणले अतिथिहरूलाई स्वागत गर्दै आश्रमको संरचना र गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
आध्यात्मिक चेतना, अनुशासन र मानविय मूल्यको प्रवर्द्धनमा ओशो तपोवन तथा बोधिसत्व स्वामी आनन्द अरुणको योगदान उल्लेखनीय मानिन्छ। यस्तो केन्द्रहरूले समाजमा सकारात्मक सोच, शान्ति र सहअस्तित्वको भावना विस्तार गर्दै मानवतावादी दृष्टिकोणलाई सुदृढ बनाउँदै आएका छन्।
बुद्ध पूर्णिमाको सन्दर्भमा गरिएको यो भ्रमणले आध्यात्मिक पर्यटनको प्रवर्द्धनसँगै नेपाललाई शान्ति र ध्यानको वैश्विक केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।
लुम्बिनीको मायादेवी मन्दिर नजिकै अवस्थित उक्त आध्यात्मिक स्थलमा हाल २५० साधक ध्यानमा संलग्न रहेका छन्।
