सुशीला कार्कीले बालेनको श्रीमतीलाई आमा भन्नू भनेपछि…

पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिनु उपयुक्त नभएको भन्दै सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गरेकी छन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदमा चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै आएकी कार्…

सुशीला कार्कीले बालेनको श्रीमतीलाई आमा भन्नू भनेपछि…

पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिनु उपयुक्त नभएको भन्दै सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गरेकी छन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदमा चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै आएकी कार्कीले यसअघि पनि सरकारले न्यायपालिकासम्बन्धी निर्णयमा गम्भीर त्रुटि गरेको टिप्पणी गर्दै आएकी थिइन् ।

उनले विशेषगरी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगर्नुलाई सरकारको गलत कदमका रूपमा व्याख्या गर्दै आएकी छन् ।

यही क्रममा शनिबार काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी हुन पुगेकी कार्की कार्यक्रम सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग केहीबेर संवादमा देखिएकी थिइन् ।

कार्यक्रमस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेका थिए । त्यसपछि कार्कीले तत्काल प्रतिक्रिया दिँदै ‘कसले आमा भनेको ?’ भनेर प्रतिप्रश्न गरिन् ।

साहले आफूले सम्बोधन गरेको बताएपछि कार्कीले आक्रोश मिश्रित शैलीमा भनिन्, ‘तिमीहरूको आमा त फेरिइसक्यो ।’ लगत्तै साहले ‘केही फरक पर्दैन, आमा फेरिँदैन’ भन्दै प्रतिक्रिया दिएपछि कार्कीले आफूलाई नभई प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई ‘आमा’ भन्न आग्रह गरिन् ।

उनले भनिन्, ‘अब बालेनको श्रीमतीलाई आमा भन ।’ त्यसपछि सञ्चारकर्मी साहले ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै त्यहाँबाट अघि बढेकी थिइन् ।

साहले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।