पाँच हजार दुई सय ६५ जनाले बुझाएनन् सम्पत्ति विवरण

राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०/०८२ को सम्पत्ति विवरण अनुमगन प्रतिवेदन आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको छ । आज एक कार्यक्रमकाबीच केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार राईसमक्ष पेस गरेका हुन् ।…

पाँच हजार दुई सय ६५ जनाले बुझाएनन् सम्पत्ति विवरण

राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०/०८२ को सम्पत्ति विवरण अनुमगन प्रतिवेदन आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको छ ।

आज एक कार्यक्रमकाबीच केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार राईसमक्ष पेस गरेका हुन् ।

सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र कानुनबमोजिम आफ्नो सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै आयोगका प्रमुख आयुक्त राईले ऐनद्वारा तोकिएबमोजिम प्रतिवेदन पेस गरेकामा केन्द्रलाई धन्यवाद दिनुहुँदै सम्पत्ति विवरण नभराउने कार्यालय प्रमुखलाई सो विषयमा जिम्मेवार बनाउनुपर्ने र यसलाई कार्यसम्पादनसँग आबद्धता गर्नु आवश्यक रहेको कुरामा जोड दिए ।

अवकाशमा जाने कर्मचारीले अवकाश पत्र लिनु अगाडि सम्पत्ति विवरण भर्ने व्यवस्था गर्न र सातवटै प्रदेश एवं मन्त्रालय तहमा सम्पत्ति विवरण भर्नेसम्बन्धी अनुशिक्षण सञ्चालन गर्न उनले सुझाव दिए ।

प्रतिवेदनअनुसार सम्पत्ति विवरण बुझाउने दायित्व भएका सङ्घका चार लाख ६९ हजार ८८० जना छन् । यस्तै, प्रदेशका २३ हजार ६०६ र स्थानीय तहका कुल दुई लाख ७८ हजार ८१२ कर्मचारी एवं पदाधिकारी छन् । कुल सात लाख ६७ हजार ३३ जनाले सम्पत्ति विवरण बुझाएको र पाँच हजार २६५ जनाले तोकिएको समयभित्र विवरण नबुझाएको पाइएको छ ।

विगत वर्षमाभन्दा सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या घट्दो क्रममा रहेको प्रतिवेदनबाट देखिन्छ । तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाएका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक तथा पदाधिकारीलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि आयोगले कदम चाल्ने आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।