वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ। आयोगले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३ मा अर्काको छोरीलाई आफ्नी छोरी देखाई गलत विवरणका आधारमा जन्मद…

वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३ मा अर्काको छोरीलाई आफ्नी छोरी देखाई गलत विवरणका आधारमा जन्मदर्ता र नागरिकता प्रमाणपत्र जारी गरिएको आरोपमा सिंहसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

आरोपपत्रमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल तथा अन्य सरकारी अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, गृह मन्त्रालय अन्तर्गतको छानबिन समितिका तत्कालीन संयोजक पुस्कर राना र सदस्य पर्शुराम पोखरेलविरुद्ध पनि गलत प्रतिवेदन तयार गरी अनियमिततालाई ढाकछोप गरेको आरोप अख्तियारले लगाएको छ।

आयोगका अनुसार, जन्मदर्ता प्रमाणपत्र र त्यसका आधारमा नागरिकता जारी गर्ने क्रममा गलत विवरण तयार पारिएको, कागजातमा हेरफेर गरिएको तथा अनुसन्धान प्रक्रियामा ढाकछोप गरिएको देखिएको छ।

यसैगरी, प्रतिवादीहरूमध्ये मेयर सिंह र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० निवासी रिता भट्टराईलाई पनि मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ।

आयोगले सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विभिन्न दफाअन्तर्गत कैद र जरिवाना मागदाबी लिएको छ।मुद्दा अब विशेष अदालतमा सुनुवाइका लागि अघि बढ्ने छ ।