३५ वर्षका काण्ड खोलियोस्, तर अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्छ : ऐन महर

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले प्रस्तुत गरेको बजेटले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताएका…

३५ वर्षका काण्ड खोलियोस्, तर अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्छ : ऐन महर

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले प्रस्तुत गरेको बजेटले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताएका हुन् ।

उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए । उनले भने,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो तर विडम्बना त्यस्तो हुन सकेन । विद्वान अर्थमन्त्री टिभीमा देख्दा, बिगतमा वक्तव्यहरु सुन्दा केही गर्नुहुन्छ भन्ने लागेको थियो । तर जब बजेट सदनमा प्रस्तुत गर्नुभयो त्यसको सार चित्तबुझ्दो लागेन । बजेटमा समेटिएका विषयवस्तुभन्दा पनि अर्थमन्त्रीज्यूको एटिच्युडले हामीलाई गम्भीर बनायो । जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली छ त्यो उहाँमा देखिएन ।’

महरले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उनले त्यस्तो व्यवहारले अर्थमन्त्रीको विद्वतामाथि नै प्रश्न खडा गरेको बताए। उनले भने,‘उहाँले बजेट गैरजिम्मेवार, हावादारी र भरिएको जस्तो बजेट ल्याउनु भयो । त्यसले दुःखी बनाउनुभयो । जनमतको घोर अपमान गर्नुभयो । म यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु अर्थमन्त्रीज्यूको ।’

उनले अर्थमन्त्री वाग्लेले आफूमाथि प्रश्न उठेपछि फाइल खोल्ने धम्की दिएको भन्दै आपत्ति जनाए । उनले खर्च कटौती प्रस्ताव पेश गर्दै ३५ वर्षका फाइल खोल्न चुनौती दिए ।

उनले भने, ‘अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर गरेको गम्भीर आरोप लागेको छ । विगतमा मन्त्रीमाथि प्रश्न उठ्दा जनार्दन शर्माले राजीनामा दिनुभएको थियो, गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो । अहिलेकाले धम्काउँदै हुनुहुन्छ, फाइल खोल्ने भनेर । ३५ वर्षका काण्ड खोलियोस् । तर अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।’ महरले यो बजेट कम्युनिस्टको होइन भन्ने अर्थमन्त्री वाग्लेलाई कम्युनिस्ट सरकारले शुरू गरेका सामाजिक सुरक्षा भत्ता कटाएर देखाउन चुनौती दिए ।

उनले भने, ‘एकजना पूर्वप्रधानमन्त्रीलाई गाली शिरोमणिको आरोप लाग्ने गरेको थियो, अर्थमन्त्रीले यहाँ आफूलाई गाली शिरोमणिको रूपमा स्थापित गर्नुभएको छ ।’