बागमतीमा एमाले सरकारलाई समर्थन गर्दा राप्रपाबाट निष्कासित भए उद्धव थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै थापालाई कारबाही गरिएको जानकारी दिएका हुन् । थापाले नेकपा (एमाले) र नेपाली कम्युनिस्ट प…

बागमतीमा एमाले सरकारलाई समर्थन गर्दा राप्रपाबाट निष्कासित भए उद्धव थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै थापालाई कारबाही गरिएको जानकारी दिएका हुन् ।

थापाले नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित बागमती प्रदेश सरकारलाई समर्थन गरेका थिए । तर राप्रपाले उक्त समर्थन फिर्ता लिन निर्देशन दिँदै पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन नगर्न भनेको थियो ।

पार्टीको निर्देशन नमानेपछि थापामाथि कारबाही गरिएको अध्यक्ष लिङ्देनले बताए । ‘उद्धव थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिएको छ,’ लिङ्देनले भने ।

बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद चर्किएको थियो । थापाले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गरेपछि राप्रपाले यसअघि नै उनको समर्थन अनधिकृत भएको जनाएको थियो ।

अध्यक्ष लिङ्देनले संसदीय दलका नेतामाथि कारबाही गरिसकेपछि सरकारमा सहभागी हुने अन्य राप्रपा सांसदलाई समेत कारबाही गरिने बताएका छन् ।

थापामाथिको कारबाहीसँगै बागमती प्रदेशमा राप्रपाको आन्तरिक विवाद थप चर्किने देखिएको छ ।