ओशो तपोवनको नयाँ अभियान : विश्वशान्तिका लागि दिनमा ६ मिनेट

स्वामी आनन्द अरुण अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसाले सम्पूर्ण मानव समुदायलाई चिन्तित र दुःखी बनाएको छ। पूर्वी युरोपमा जारी रुस–युक्रेन युद्ध, मध्यपूर्वको इजरायल–गाजा युद्ध, अमेरिका–इरान युद्ध तथा विभिन्न मुलुकबीच बढिरहेको राजनीतिक तिक्तताका कारण विश्वले गम्भीर संकटको साम…

ओशो तपोवनको नयाँ अभियान : विश्वशान्तिका लागि दिनमा ६ मिनेट

स्वामी आनन्द अरुण

अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसाले सम्पूर्ण मानव समुदायलाई चिन्तित र दुःखी बनाएको छ। पूर्वी युरोपमा जारी रुस–युक्रेन युद्ध, मध्यपूर्वको इजरायल–गाजा युद्ध, अमेरिका–इरान युद्ध तथा विभिन्न मुलुकबीच बढिरहेको राजनीतिक तिक्तताका कारण विश्वले गम्भीर संकटको सामना गरिरहेको छ।

दैनिक ठूलो संख्यामा मानिसले ज्यान गुमाइरहेका छन् भने लाखौँ मानिस घाइते, घरबारविहीन र अङ्गभङ्ग भई कष्टकर जीवन बिताउन बाध्य छन्। असंख्य बालबालिका युद्धको मारमा परेका छन्। युद्धले सामाजिक सद्भाव कमजोर बनाउनुका साथै वातावरणमा क्षति पुर्‍याएको छ र विश्व अर्थतन्त्रमा समेत गम्भीर असर पारेको छ।

ग्लोबल पिस इन्डेक्सका अनुसार, सन् २०२५ मा विश्वका विभिन्न द्वन्द्वमा १ लाख ८१ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। विश्वमा दैनिक औसत करिब ८ अर्ब अमेरिकी डलर (१२ खर्ब नेपाली रुपैयाँ) सैन्य क्षेत्रमा खर्च भइरहेको छ। अहिलेको परिस्थिति हेर्दा ठूला शक्तिहरूबीच बढ्दो तनावले व्यापक युद्धको खतरा बढाएको देखिन्छ।

धेरै द्वन्द्वमा राजनीतिक तथा कूटनीतिक पहलले अझै अपेक्षित परिणाम दिन सकेका छैनन्। यस्तो समयमा जब राजनीतिक प्रयास र कूटनीतिक संवादहरू प्रभावहीन हुँदै जान्छन्, तब हामीले फेरि आफ्नो अन्तरचेतना र अस्तित्वतर्फ फर्केर समाधानको बाटो खोज्नुपर्ने हुन्छ। यस्तो विनाशकारी र चुनौतीपूर्ण परिस्थितिमा एक साधारण नागरिक वा चेतनशील व्यक्तिले गहिरो प्रेम, करुणा र शुद्ध भावनाका साथ गरेको प्रार्थना, ध्यान तथा सकारात्मक विचारमा रूपान्तरणकारी शक्ति निहित हुन्छ।

अहिले विश्वमा भइरहेको युद्ध तथा द्वन्द्वको कारण कतै न कतै मनुष्यको मनमा दबेर रहेका कुण्ठा, रिस, घृणा अनि वैमनस्यतालगायतका नकारात्मक विचार र भावनाहरू नै हुन्। जब मानिसहरूको मनमा यस्ता नकारात्मक विचार र भावनाहरू निरन्तर सञ्चित हुँदै जान्छन्, समयक्रममा ती सामूहिक असन्तोष र तनावका रूपमा विस्फोटित हुन्छन् र हरेक १०–१५ वर्षमा विनाशकारी रूप लिन्छन्। तर सचेत प्रयास, साधना, ध्यान र प्रार्थनाबाट त्यस्ता विचारलाई सकारात्मक दृष्टिकोण र भावनात्मक सन्तुलनतर्फ रूपान्तरण गर्न सकिन्छ।

तसर्थ, यस सचेत प्रयासलाई मूर्तरूप दिन हामीले ओशो तपोवनबाट 'विश्वशान्तिका लागि ३ मिनेट' (3 Minutes for World Peace) अभियान सुरु गरेका छौँ। हरेक दिन बिहान र बेलुका ध्यानपछि तीन–तीन मिनेट सामूहिक प्रार्थना गर्नु यसको विनम्र सुरुवात हो।

यो अभियान नेपालमा मात्र सीमित नरही विश्वभरका चेतनशील व्यक्तिहरूसम्म पुगोस् भन्ने हाम्रो उद्देश्य हो। तपोवनमा दैनिक करिब दुई सय जनाले र ओशो तपोवनसँग प्रत्यक्ष रूपमा जोडिएका हजारौँ साधकहरूले सामूहिक रूपमा दिनमा दुईपटक तीन मिनेट युद्ध र हिंसाको अन्त्य तथा विश्वशान्तिका लागि प्रार्थना गर्छौँ।

हाम्रो चाहना यसलाई ओशोका शिष्यहरूमा मात्र सीमित नराखी सबै चेतनशील र शान्तिप्रेमी मानिसहरूले अपनाऊन् भन्ने हो। यसको मूल उद्देश्य केही समयको अभियान सञ्चालन गर्नु मात्र होइन, यसलाई दीर्घकालीन रूपमा जीवनको एउटा हिस्साका रूपमा निरन्तरता दिनु हो। यस्तो प्रार्थनाले बाहिरी रूपमा मात्र नभई प्रार्थना गर्ने व्यक्तिको जीवनमा समेत तत्काल परिवर्तन ल्याउँछ। जब एक चेतनशील व्यक्तिले गहिरो प्रेम र करुणाले प्रार्थना गर्छ, उसको मन शान्त हुन्छ र करुणाभाव विकसित हुँदै जान्छ। त्यति मात्र नभई जब हामी निःस्वार्थ मनले जगत्कल्याणका लागि प्रार्थना गर्छौँ, हामीमाथि अस्तित्वको कृपा र आशीर्वाद रहन्छ।

आज युद्ध र हिंसाका कारण क्रूरतापूर्ण रूपमा जुन ठूलो संख्यामा मानिस मारिएका, घाइते र अङ्गभङ्ग भएका छन्, यी केवल तथ्याङ्क मात्र होइनन्; मानवीय संवेदनामाथिका गम्भीर प्रहार हुन्। यस्तो अवस्थामा राजनीतिक नेतृत्वका गैरजिम्मेवार कदमले मानवीय चेतनालाई अझ पछाडि धकेलेका छन्। अहिलेको युग विज्ञान, प्रविधि र सूचनाको युग हो।

सूचना प्रविधिले विश्वलाई एक परिवारजस्तै नजिक ल्याएको छ। आजको विज्ञान र प्रविधि अन्य ग्रहमा जीवनको खोजीमा निरन्तर अघि बढिरहेको छ; तर विडम्बना के छ भने, यही पृथ्वीमा भने मानिसहरू युद्ध, हिंसा र अशान्तिका कारण ज्यान गुमाइरहेका छन्। यही युग मानसिक विचलन, आत्मविस्मृति र निरन्तर उत्तेजनाको युग पनि बनेको छ। राजनीति र धर्मको दुरुपयोगले यसलाई अझ जटिल बनाएको छ।

विश्व स्वास्थ्य संगठन (WHO) को पछिल्लो तथ्याङ्कअनुसार, सन् २०२१ मा विश्वभर करिब १.१ अर्ब मानिस– अर्थात् प्रत्येक सात जनामध्ये लगभग एक जना– मानसिक विकारबाट प्रभावित थिए भने WHO को सन् २०२५ को पछिल्लो प्रतिवेदनअनुसार विश्वभर १ अर्बभन्दा बढी मानिस मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित छन्। त्यसैले मानिसको चेतनामा शान्तिको बीउ रोप्नु आवश्यक छ। हृदयमा शान्ति र विवेक नहुँदा विज्ञान र प्रविधिको विकाससमेत विनाशको साधन बनेको छ। ध्यान र प्रार्थना चेतनशील व्यक्तिले गर्न सक्ने सरल र सचेत प्रयास हुन्।

विचारको शक्तिबारे हाम्रा सन्तहरूले धेरै बोलेका छन् र विभिन्न ध्यानविधिहरू प्रतिपादन गरेका छन्। आफ्नो साधनाबाट विचारको सूक्ष्म बोध गर्नुभएका स्वामी खप्तड बाबाले विचारशक्तिको रहस्य आफ्नो प्रसिद्ध पुस्तक 'विचार विज्ञान' मा यसरी व्यक्त गर्नुभएको छ– 'विचारहरू प्रकाशको गति (प्रतिसेकेन्ड ३ लाख किलोमिटर) भन्दा पनि कयौँ गुणा तीव्र गतिमा यात्रा गर्छन्।' मानिसको मनमा प्रतिघण्टा २ देखि ३ हजारसम्म विचार निरन्तर आइरहन्छन्। विचारहरूका आफ्नै रङ, गन्ध र प्रभाव हुन्छन्। यो अति सूक्ष्म भएकाले हाम्रो आँखाले देख्न पनि सकिँदैन, तर यसको प्रभावबाट कोही पनि बच्न सक्दैन। जब हामी एकाग्र भएर एउटै विचार वा भावमा केन्द्रित हुन्छौँ, हाम्रो ध्यान र सङ्कल्प गहिरो हुन्छ।

अहिले शारीरिक तथा मानसिक उपचारका लागि अत्यन्त प्रचलित 'रेकी' विधि पनि विश्वको जुनसुकै ठाउँबाट हामीले आफ्ना विचार तथा भावनाका माध्यमबाट कसरी रोग निको पार्न सक्छौँ भन्ने कुराको ज्वलन्त उदाहरण हो। रुसी महिला निना कुलागिना पनि विचारको शक्तिबाट चम्चा बङ्गाउने तथा साना वस्तुलाई स्पर्श नै नगरी सार्ने गर्थिन्। यस्ता धेरै उदाहरण विश्वमा रहेका छन्। त्यसकारण हाम्रा विचारहरू हामीले सोचेभन्दा बढी प्रभावशाली हुन्छन्, विशेषतः जब ती मनमा बारम्बार दोहोरिन्छन्। हाम्रा विचारहरू हाम्रा शब्दजस्तै प्रभावकारी हुन्छन्।

कतिपयलाई विश्वका विभिन्न भूभागमा भइरहेका द्वन्द्व र हिंसा हाम्रो मुलुकसँग प्रत्यक्ष सम्बन्धित छैनन् जस्तो लाग्न सक्छ। तर, मानवता कुनै धर्म, सीमा वा राष्ट्रमा सीमित हुँदैन। हामीले गरेको सानो प्रार्थनाले तत्काल नै युद्ध रोकिन्छ भन्न खोजिएको होइन, तर यसले केही हदसम्म भए पनि विश्वको जुनसुकै मुलुकमा राजनीतिक र आपराधिक हिंसा न्यूनीकरणमा सकारात्मक प्रभाव पार्छ। जसरी सामूहिक घृणा र भयले हिंसाको वातावरण सिर्जना गर्छ, त्यसरी नै करुणा, प्रेम र शान्तिको सामूहिक सङ्कल्पले मानिसको सोच, व्यवहार र सामाजिक सम्बन्धलाई शान्तितर्फ उन्मुख गराउन महत्त्वपूर्ण भूमिका खेल्छ।

सन् २०२३ डिसेम्बरदेखि २०२४ जनवरीसम्म भारतको हैदरावादमा १० हजारभन्दा बढी मानिसको सहभागितामा आयोजित विश्वशान्ति ध्यानसम्बन्धी अध्ययनले प्यालेस्टाइन, म्यानमार र सिरियामा राजनीतिक हिंसाको समग्र प्रवृत्तिमा उल्लेखनीय कमी आएको उल्लेख गरेको छ। अध्ययनले डिसेम्बर २०२३ देखि जनवरी २०२५ सम्म हिंसात्मक घटनामा समग्रमा २९.२ प्रतिशत कमी आएको देखाएको थियो।

यसैगरी, सन् १९९३ मा वासिङ्टन डी.सी.मा करिब चार हजार मानिसको सहभागितामा झन्डै दुई महिना गरिएको सामूहिक 'ट्रान्सेन्डेन्टल मेडिटेसन' (टी.एम.) सम्बन्धी अध्ययनले हत्या, बलात्कार र आक्रमणजस्ता हिंसात्मक अपराधमा अधिकतम २३.३ प्रतिशतसम्म कमी आएको रिपोर्ट गरेको थियो।

सन् १९८३ को अगस्ट–सेप्टेम्बरमा जेरुसेलममा टी.एम. समूहसम्बन्धी एक अध्ययनले समूहमा सहभागीहरूको संख्या बढी भएका दिनहरूमा लेबनान युद्धमा हुने मृत्यु कम भएको सम्बन्ध देखाएको थियो। अध्ययनको एउटा विश्लेषणमा उच्च सहभागिताको अवधिमा युद्धसम्बन्धी मृत्यु करिब ७६ प्रतिशतले घटेको रिपोर्ट गरिएको थियो। यो अनुसन्धान सन् १९८८ मा येल युनिभर्सिटीको 'जर्नल अफ कन्फ्लिक्ट रिजोलुसन' मा प्रकाशित भएको थियो।

नेपाल एक आध्यात्मिक देश हो। हामीसँग खुला हृदय, ध्यान–प्रार्थनाको परम्परा र समृद्ध आध्यात्मिक संस्कृति छ। शान्ति, करुणा र सहअस्तित्वको यही चेतना आज विश्वलाई पनि आवश्यक छ।

तसर्थ, चौबीस घण्टामा बिहान–बेलुका तीन–तीन मिनेट समय युद्ध समाप्तिका लागि निकाल्नु खासै कठिन छैन। हाम्रा ऋषिमुनिहरूले पनि कठिन परिस्थितिमा जगत्कल्याणका लागि प्रार्थना गर्ने परम्परा बसालेका थिए। आधुनिक अनुसन्धानले ध्यानले मानव मस्तिष्क, तनाव र भावनात्मक सन्तुलनमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ। अब यसलाई एक दिन वा एउटा अध्ययनमा मात्र सीमित नराखौँ। सकेसम्म धेरै मानिसलाई दैनिक रूपमा यस अभियानमा जोड्दै लैजान सकेमा यसले युद्ध र हिंसाले आक्रान्त विश्वमा शान्ति, करुणा र सद्भावको वातावरण निर्माण गर्न योगदान पुर्‍याउन सक्छ।

द्वन्द्व र हिंसाको बीउ पहिले मानिसको मनमा रोपिन्छ; त्यसैले युद्ध र हिंसाको वास्तविक निवारण पनि मानिसको चेतना परिवर्तनबाटै सुरु हुनुपर्छ। आणविक बम तथा आधुनिक विनाशकारी हतियार आजको मानवताका लागि अभिशाप हुन्। किनकि सानो प्राविधिक त्रुटि होस् या गलत राजनीतिक नेतृत्वले आवेगमा गर्ने व्यवहार होस् वा मानसिक विक्षिप्ततामा गर्ने सानो गल्ती होस्, यो विश्व मरुभूमिमा परिणत हुन केही बेर लाग्दैन।

दैनिक बिहान र बेलुका तीन मिनेट प्रार्थना गर्नु व्यक्तिगत रूपमा एउटा सानो प्रयासजस्तो देखिन सक्छ। तर जब धेरै मानिस एउटै सकारात्मक भाव, प्रेम र करुणाका साथ दैनिक रूपमा प्रार्थना गर्छन्, त्यसले सामूहिक रूपमा शान्ति र सद्भावको चेतना विकास गर्न सक्छ। यस्तो सकारात्मक सङ्कल्पले मानिसको सोच र व्यवहारमार्फत समाजमा व्याप्त अशान्ति र नकारात्मकता कम गर्न योगदान पुर्‍याउँछ।

अस्तित्वले हामीलाई प्रकृतिले भरिपूर्ण सुन्दर पृथ्वी दिएको छ, तर आज यही पृथ्वी हिंसा, द्वन्द्व र विनाशका कारण अधोगतितर्फ उन्मुख हुँदै छ। विश्वमा सैन्य क्षेत्रमा खर्च भइरहेको दैनिक करिब ८ अर्ब अमेरिकी डलर (१२ खर्ब नेपाली रुपैयाँ)– जसको दुई दिनको खर्च जोड्यो भने नेपालजस्तो मुलुकको वार्षिक बजेट हुन आउँछ– यसको एउटा ठूलो अंश अविकसित र युद्धप्रभावित देशहरूको शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा लगानी गर्न सकियो भने विश्वको स्वरूप कति सुन्दर हुन सक्ला?

अन्त्यमा, हाम्रा ऋषिमुनिहरूले युगौँदेखि जगत्कल्याणका लागि गर्दै आएको प्रार्थनालाई स्मरण गरौँ। म सबैलाई युद्ध र हिंसाको अन्त्यका लागि यस अभियानमा जोडिन आग्रह गर्दछु। यो केवल एउटा सानो प्रार्थना होइन, शान्ति र करुणाको नयाँ संस्कृतिको थालनी हो। यसले हामी विश्वप्रति संवेदनशील छौँ र यसको ख्याल गर्छौँ– 'We care for the world'– भन्ने सन्देश दिन्छ।

सर्वे भवन्तु सुखिनः।

सर्वे सन्तु निरामयाः।

सर्वे भद्राणि पश्यन्तु।

मा कश्चिद् दुःखभाग् भवेत्॥

“सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले शुभ र मंगलमय कुरा देख्न पाऊन्, र कसैले पनि दुःख भोग्न नपरोस्।”