रसुवामा बुधबार आएको भीषण बाढीले जिल्लाको विद्युत् प्रणालीमै गम्भीर क्षति पुर्याएको छ। बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका महत्वपूर्ण जलविद्युत् केन्द्र, प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
प्राधिकरणका अनुसार बाढीले रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा क्षति पुर्याएको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा समेत क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्।
विद्युत् उत्पादनदेखि प्रसारण र वितरणसम्मका महत्वपूर्ण संरचना क्षतिग्रस्त भएपछि रसुवा क्षेत्रमा विद्युत् सेवा गम्भीर रूपमा प्रभावित भएको छ। कतिपय क्षेत्रमा बिजुली पूर्ण रूपमा अवरुद्ध भएको छ भने आपूर्ति नियमित हुन समय लाग्न सक्ने देखिएको छ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गर्दै विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्न टोली परिचालन गरेको जनाएको छ। तर बाढीले पुर्याएको क्षति ठूलो रहेकाले तत्कालै सबै क्षेत्रमा विद्युत् सेवा पूर्ववत् हुने अवस्था नरहेको प्राधिकरणको भनाइ छ।
बाढीले विद्युत् संरचनामात्र होइन, घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राधिकरणले उद्धार, राहत र पुनःस्थापनामा सम्बन्धित सबै पक्षलाई तत्काल परिचालित हुन अनुरोध गर्दै आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
पछिल्लो बाढीले रसुवाको ऊर्जा पूर्वाधारमा पुनः ठूलो धक्का दिएसँगै जिल्लामा मात्रै नभई आसपासका क्षेत्रमा समेत विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीमा थप दबाब पर्ने जोखिम बढेको छ।
