रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ ।
बैठकले विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको भन्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का हुने निर्णय भएको छ ।
घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा राजनीतिक दलहरू एकमत भएका छन् ।
बैठकमा रास्वपाका सभापति रवि लामिद्धछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंह सहभागी थिए ।
