भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटबाहेकका नेपाली र विदेशी गरी एक हजार ४३३ जना सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बिहीबार साढे २ बजेसम्म देशभरबाट सम्पर्कविहीन भएका नागरिकको तथ्यांक प्राप्त भएको छ।
रसुवा र नुवाकोटबाहिक देशका सातै प्रदेशका ९१६ जना र विदेशी नागरिक ५१७ जना सम्पर्कविहीन भएका छन्। प्राधिकरणले रसुवा र नुवाकोटको छुट्टै तथ्यांक संकलन गरिरहेको छ।
पछिल्लो तथ्यांकअनुसार, कोसी प्रदेशका ८० जना सम्पर्कविहीन भएका छन्। उनीहरू जलविद्युत कम्पनीमा कार्यरत कर्मचारी, व्यवसायी र व्यापारी रहेका छन्। उनीहरू ११ जिल्लाका रहेका छन्।
त्यस्तै, मधेस प्रदेशका ३७, रसुवा र नुवाकोटबाहेकका बागमती प्रदेशका ४२० र गण्डकी प्रदेशका ८४ जना सम्पर्कविहीन भएका छन्।
यसैगरी, लुम्बिनी प्रदेशका १०५, कर्णाली प्रदेशका ११८ र सुदूरपश्चिम प्रदेशका ७२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
