सामाजिक सञ्जाल फेसबूकमार्फत विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भनेर ‘फोकटको सल्लाह (उनकै भाषामा)’ दिने कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई सरकारले रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै जिम्मेवारी दिएर खटाएको छ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट रसुवाको टिमुरे क्षेत्रमा काज सरुवा गरेको हो ।
उनलाई भोटेकोशी नदीमा आएको बाढीपछि हराएका, बेपत्ता भएका र मृत्यु भएका व्यक्तिहरूको खोज, उद्धार तथा विशेष गरी ‘शव व्यवस्थापन’ को काम गर्ने जिम्मेवारी तोकिएको छ ।
सचिव निरौलाले शनिबार फेसबूकमा एउटा लामो स्टाटस लेख्दै बाढीमा परी ज्यान गुमाएकाहरूको शव सामूहिक रूपमा गाडिएको भन्दै सरकारको आलोचना गरेका थिए ।
कोभिड–१९ को समयमा मोरङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुँदाको अनुभव सुनाउँदै उनले लेखेका थिए, ‘हतार गरेर लास गाड्ने निर्णय नगरौँ, आफन्त नभेटिए केही महिना पर्खौं मृतकको धर्म र संस्कारलाई सम्मान गरौँ ।’
उनले ‘फोकटको सल्लाह’ भन्दै दिएको यो सुझाव सार्वजनिक भएको २४ घण्टा नबित्दै मन्त्रालयले उनलाई सोही कामको व्यवहारिक अनुभव लिन रसुवा पठाउने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट उनलाई गृह प्रशासन र विपद् व्यवस्थापनको अनुभव भएको कर्मचारीका रूपमा परिचालन गरिएको पत्रमा उल्लेख छ ।
मन्त्रालयको पत्रअनुसार निरौलाले रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्नेछ र उनले जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नेछन् ।
उनको तलब, भत्ता र अन्य सुविधा भने हाल कार्यरत कोशी प्रदेशकै मन्त्रालयबाट भुक्तानी हुनेछ ।
आफ्नो सुझावका कारण रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै लागि खटाइएपछि सचिव निरौलाले उक्त फेसबूक स्टाटस भने हटाएका छन् ।
