भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको खोज, उद्धार र पुनर्स्थापनामा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्। त्यस क्रममा उनले भारत सरकार तथा भारतीय नागरिकका तर्फबाट नेपाल सरकार र नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन्।
भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिंहले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीयलगायत अन्य मुलुकका नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै सिंहले नेपाल र भारतबीचको निकट सम्बन्धलाई उल्लेख गरेका छन्। उनले विपद्को यस कठिन अवस्थामा भारत नेपालसँगै रहेको बताएका छन्।
उनका अनुसार दुई देशबीचको मित्रता र साझेदारीलाई आधार बनाउँदै भारतले नेपालका प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ। खोज तथा उद्धारका कामसँगै विपद्पछिको पुनर्स्थापनाका प्रयासमा समेत भारत सहयोग गर्न तयार रहेको सिंहले स्पष्ट पारेका छन्।
नेपालमा भएको विपद्प्रति भारत सरकारको उच्च तहबाट व्यक्त यो प्रतिबद्धताले दुई देशबीचको मानवीय तथा द्विपक्षीय सहकार्यलाई विपद् प्रतिकार्यमा समेत निरन्तरता दिने संकेत गरेको छ।
