टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले हिजो जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा–नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा मौसम तथा सम्भावित जोखिमबारे छलफल गरेका थिए।

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले हिजो जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा–नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा मौसम तथा सम्भावित जोखिमबारे छलफल गरेका थिए। छलफलमा नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्ने विषयमा जोड दिइएको थियो।

सोही छलफलपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा आज टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान कार्य सम्पन्न गरिएको हो।

हाल प्रणाली सञ्चालनमा ल्याउन भीस्याट (VSAT) जडान तथा सञ्चार व्यवस्थापनको काम भइरहेको छ। सम्भवतः आज रातिदेखि नै प्रणाली सञ्चालनमा आउने जनाइएको छ।

क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्था चौबिसै घण्टा रियल–टाइममा दृश्यरूपमा निगरानी गर्न सकिनेछ। प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरिनेछ।

विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था र बाढीको सम्भावित जोखिमबारे प्रारम्भिक जानकारी लिन तथा समयमै पूर्वसूचना प्रवाह गर्न यो प्रणाली महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।