सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीहरूले विद्यालय परिसरमै कुटपिट गरेका छन्।
विद्यालय परिसरको सरसफाइ गर्न प्रधानाध्यापक झाले विद्यार्थीहरूलाई आग्रह गरेपछि विद्यार्थीहरूले उनको निर्देशन नमानेको र त्यसक्रममा प्रधानाध्यापक झाले विद्यार्थीमाथि अपशब्द प्रयोग गर्दै गाली गरेपछि विवाद उत्पन्न भएको विद्यालयमै कार्यरत एक शिक्षकले बताएका छन्।
विवाद बढ्दै गएपछि आक्रोशित विद्यार्थीहरूले प्रधानाध्यापक झामाथि कुटपिट गर्नुका साथै प्रधानाध्यापक झा चढ्ने जिपसमेत तोडफोड गरेका छन्।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बलरा र सशस्त्र प्रहरी बल मधुवनी बेसबाट संयुक्त रूपमा खटिएको सुरक्षाकर्मीको टोलीले प्रधानाध्यापक झालाई विद्यालय परिसरबाट सुरक्षित रूपमा बाहिर निकालेको थियो।
कुटपिटबाट घाइते भएका प्रधानाध्यापक झाको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
विद्यालयमा लामो समयदेखि कार्यरत प्रधानाध्यापक झा यसअघि पनि विभिन्न विवादमा पर्दै आएको स्थानीयको भनाइ छ। केही समयअघि विद्यालयको रंगरोगनका लागि ल्याइएको पेन्ट निजी गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा विद्यार्थी तथा अभिभावकले उनलाई नियन्त्रणमा लिएका थिए ।
प्रधानाध्यापक झामाथि भएको कुटपिटको घटनाप्रति बलरा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन नगर शिक्षा समितिको नेतृत्वमा छानबिन टोली गठन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख सितेश यादवले जानकारी दिए।
नगरप्रमुख रामाशंकर कुशवाहाले विद्यालय शान्ति क्षेत्र भएकाले कुनै पनि पक्षबाट विद्यालयको शैक्षिक वातावरण तथा शान्ति–सुरक्षामा असर पर्ने गतिविधि नगर्न आग्रह गरेका छन्।
