बाढीको सात दिन बित्यो, सरकारले बल्ल दियो आयोजनाका प्राविधिक टोलीलाई सुरुङमा जाने अनुमति

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बाढीका कारण फसेका तथा सम्पर्कविहीन कर्मचारी र श्रमिकको खोज तथा उद्धारमा अब सम्बन्धित आयोजना प्रवर्द्धक कम्पनीका प्राविधिक टोली पनि परिचालन हुने भएका छन्। बाढी आएको सातौँ दिन सरकारले आयोजनाका कम्पनीलाई आवश्यक जनशक्ति र उपकरणसहित उद्धारमा सहभागी हुन अनुमति दिएको ह

बाढीको सात दिन बित्यो, सरकारले बल्ल दियो आयोजनाका प्राविधिक टोलीलाई सुरुङमा जाने अनुमति

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बाढीका कारण फसेका तथा सम्पर्कविहीन कर्मचारी र श्रमिकको खोज तथा उद्धारमा अब सम्बन्धित आयोजना प्रवर्द्धक कम्पनीका प्राविधिक टोली पनि परिचालन हुने भएका छन्। बाढी आएको सातौँ दिन सरकारले आयोजनाका कम्पनीलाई आवश्यक जनशक्ति र उपकरणसहित उद्धारमा सहभागी हुन अनुमति दिएको हो।

यसअघि सरकारले उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्दै नेपाली सेनाको नेतृत्वमा खोजी तथा उद्धार गरिरहेको थियो। सम्बन्धित आयोजनाका कम्पनीसँग आवश्यक प्राविधिक जनशक्ति र उपकरण भए पनि उनीहरूलाई प्रत्यक्ष रूपमा उद्धारमा खटिन दिइएको थिएन।

तर, एक सातासम्मको प्रयासपछि पनि सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार हुन नसकेपछि सरकारले आयोजनाकै प्राविधिक टोलीलाई समेत परिचालन गर्ने निर्णय गरेको हो। यससँगै विभिन्न जलविद्युत् आयोजना तथा निर्माण कम्पनीले उद्धारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति जुटाउन थालेका छन्।

लाङटाङ जलविद्युत् आयोजनाले पनि आफ्ना प्राविधिक तथा आवश्यक उपकरणसहित आयोजनास्थल पुग्ने तयारी थालेको छ। आयोजना प्रवर्द्धक विजयमान भट्टराईका अनुसार नेपाली सेनाको टोली सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेपछि थप प्राविधिक सहयोग आवश्यक देखिएको थियो।

उनका अनुसार अहिले सरकारी संयन्त्र र आयोजनाको प्राविधिक टोलीबीच समन्वय गरेर उद्धार अघि बढाउने तयारी भइरहेको छ। दुर्गम क्षेत्रमा सडक तथा हवाई पहुँचसमेत प्रभावित रहेकाले उपकरण आयोजनास्थलसम्म पुर्‍याउनु अर्को चुनौती बनेको छ।

आयोजनाले काठमाडौंमा आवश्यक सामग्री तथा उपकरण खरिद र व्यवस्थापन गरिरहेको जनाएको छ। ती सामग्रीसहित प्राविधिक टोली छिट्टै घटनास्थलतर्फ जाने तयारीमा छ।

यस्तै, माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले पनि उद्धारका लागि आवश्यक प्राविधिक जनशक्ति र उपकरणको व्यवस्थापन सुरु गरेको छ। बाढीपछि आयोजनास्थलमा रहेका केही व्यक्ति सम्पर्कविहीन भएपछि कम्पनीले यसअघि नै आफ्नै टोली परिचालन गर्न खोजेको थियो। तर, सरकारी उद्धार संयन्त्रमार्फत मात्रै काम भइरहेको भन्दै कम्पनीलाई प्रत्यक्ष रूपमा सहभागी हुन दिइएको थिएन।

भदौ १० गते आएको बाढी र पहिरोका कारण रसुवा तथा नुवाकोटका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा कार्यरत ८९४ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको विवरण छ।

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ५७३ जना सम्पर्कविहीन छन्। त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ४१ जना र नुवाकोटस्थित ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना सम्पर्कविहीन छन्।

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत् गृह तथा सुरुङ क्षेत्रमा सोमबार पनि उद्धार टोलीले निरन्तर काम गरेको थियो। टनेल पोर्टल सफा गर्ने, सुरुङभित्र जमेको पानी हटाउने र उद्धार टोली प्रवेश गर्न सक्ने बाटो तयार पार्ने प्रयास गरिएको थियो।

नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसमेत सुरुङभित्र प्रवेश गरी खोजीमा खटिएको थियो। तर, सुरुङभित्र पानीको मात्रा बढी भएकाले उद्धार थप कठिन बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

एक सातासम्मको सरकारी प्रयासबाट फसेका तथा सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे ठोस जानकारी आउन नसकेपछि अब आयोजना प्रवर्द्धकको प्राविधिक क्षमता र उपकरणसमेत प्रयोग गरेर खोज तथा उद्धारलाई तीव्र पार्ने तयारी गरिएको छ।