रसुवागढी जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा श्रमिकको खोजी अब आयोजनाको संरचनाभन्दा बाहिरी क्षेत्रमा केन्द्रित गरिएको छ । सम्भावित रूपमा बाढीबाट बच्न माथिल्लो भूभाग वा जंगलतर्फ पुगेका हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा दक्ष रक क्लाइम्बरको टोली परिचालन गरिएको हो ।
आयोजनाको विद्युत्गृहभित्र शनिबार गरिएको खोजीबाट कुनै सम्पर्कविहीन व्यक्ति भेटिएनन् । त्यसपछि कम्पनीले घट्टेखोला क्याम्प आसपासका जंगल, पहाडी बाटो तथा मानिसले बाढीबाट बच्न आश्रय लिन सक्ने सम्भावित स्थानमा खोजी बढाएको जनाएको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग आबद्ध दक्ष जनशक्तिमध्ये हिमालय समिट क्लब प्रालिका आठ जना रक क्लाइम्बर अहिले स्थलगत खोजीमा छन् । टोलीले टिमुरेबाट खोजी सुरु गरेर हेलिकप्टरमार्फत घट्टेखोला पुगेपछि शनिबार बिहानैदेखि आसपासका क्षेत्रमा खोजी गरिरहेको हो ।
कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार बाढीका बेला आयोजनास्थलबाट ज्यान जोगाउन भागेका केही व्यक्ति माथिल्लो क्षेत्रमा पुगेपछि सम्पर्कमा आइसकेका छन् । तर, भाग्ने क्रममा घाइते भएर जंगल वा अप्ठ्यारो भूभागमा फसेका व्यक्ति अझै हुन सक्ने आशंकामा खोजी विस्तार गरिएको हो ।
उता, नेपाली सेनाको टोलीले पनि शनिबार आयोजनास्थलको हवाई रेकीपछि विद्युत्गृहमा प्रवेश गरी खोजी गरेको थियो । चारवटा हेलिकप्टरमार्फत पुगेको उद्धार टोलीमा कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद् एवं टनेल विज्ञ विष्णु शिवाकोटी पनि सहभागी थिए ।
सेनाको टोलीले भग्नावशेष पन्छाउँदै कन्ट्रोल रुमसहित विद्युत्गृहका विभिन्न भागमा खोजी गरेको थियो । तर, कन्ट्रोल रुम पूरै हिलो र लेदोले पुरिएको तथा बाढीले ल्याएको माटो, काठ र अन्य सामग्री ईओटी क्रेनको तहभन्दा माथिसम्म थुप्रिएको अवस्थामा भेटिएको छ ।
विद्युत्गृहभित्र ४ देखि १४ जनासम्म फसेको हुन सक्ने अनुमान गरिए पनि खोजीका क्रममा कसैलाई फेला पार्न नसकिएको कम्पनीले जनाएको छ । उद्धार टोली विद्युत्गृहबाट बाहिरिसकेको छ ।
अबको खोजीमा रक क्लाइम्बर टोलीले बाढीबाट बच्न मानिसहरू जान सक्ने बाटो, सम्भावित ओत तथा पुग्न कठिन पहाडी क्षेत्रमा विशेष निगरानी गरिरहेको छ ।
बाढीपछि आयोजनाका ९३ कर्मचारी तथा श्रमिक अझै सम्पर्कमा आएका छैनन् । आयोजनामा कार्यरत सात जनालाई भने यसअघि नै उद्धार गरिएको कम्पनीले जनाएको छ ।
