नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन् ।
आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिएका हुन् । थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए ।
विशेषगरी भोटेकोशीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्युन हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए । प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श गर्न आग्रह गरे ।
उनले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रश्तुतिलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताए । सभापति थापाले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूलाई पनि अध्ययन गर्न सुझाव दिए ।
