काठमाडौंमा भोटेकोसी बाढीबाट विस्थापित तथा जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारले जग्गा पहिचान समिति गठन गरेको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिले पहिलो चरणमा बाढीबाट प्रभावित तथा तत्काल पुनर्स्थापना आवश्यक रहेका परिवारको संख्या यकिन गर्नेछ।
त्यसपछि प्रभावित परिवारसँग अन्यत्र जग्गा भए/नभएको विवरण संकलन गरिनेछ। अन्य विकल्प नभएका परिवारको पुनर्स्थापनाका लागि स्थानीय तह र वडासँगको समन्वयमा सम्भावित जग्गा पहिचान गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।
पहिचान भएका जग्गाको स्थलगत अध्ययन गरी विपद् जोखिमको प्रारम्भिक मूल्यांकनसमेत गरिनेछ। जोखिम कम रहेको पुष्टि भएपछि त्यस्ता जग्गा पुनर्स्थापनाका लागि प्रयोग गर्न आवश्यक कानुनी प्रक्रिया र उपायबारे समितिले सरकारलाई सिफारिस गर्नेछ।
समितिमा संघीय मामिला, पूर्वाधार विकास, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका अधिकारीहरू सहभागी छन्। सम्बन्धित जिल्लाबाट जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुखलाई समेत सदस्य तोकिएको छ।
समितिले स्थानीय तह र सम्बन्धित वडासँग तथ्यांक संकलनको काम अघि बढाइसकेको जनाएको छ। संकलित विवरणका आधारमा सुरक्षित स्थान पहिचान गरी बस्ती स्थानान्तरणको विकल्प तयार गरिनेछ।
समितिले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउने र सम्पूर्ण विवरणसहित सुझाव तथा सिफारिस समेटिएको प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ।
