पोखराका पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेका छन्।
बालाजी दियो टुर्स एन्ड ट्राभल्स तथा होटल दियो पोखराका अध्यक्ष पाण्डेले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ र लायन्स क्लब अफ पोखरा अभियानमार्फत १ लाख ११ हजार १११ रुपैयाँ गरी कुल २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेका हुन्।
देशमा विपत्ति आइपर्दा सहयोग गर्नु आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व भएको पाण्डेले बताए।
बालाजी दियो टुर्स एन्ड ट्राभल्सकी प्रबन्ध निर्देशक डिला पाण्डेले विपद्का कारण प्रभावित परिवारको पीडामा साथ दिन सहयोग गरिएको बताइन्। नेपालीको पीडामा मल्हम लगाउनु मानवीय कर्तव्य भएकाले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरिन्।
अध्यक्ष पाण्डेसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरी पोखरा फर्किएको छ।
