काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु पसल वा पशु बधशाला सञ्चालन गर्न आगामी २०८३ मंसिर १ गतेभित्र अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
नेपाल सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ‘पशु बधशाला र मासु जाँच ऐन, २०५५’ लागू हुने घोषणा गरेबमोजिम महानगरले यो कदम चालेको हो ।
सूचना अनुसार पशु बधशाला स्थापना गर्न वा मासु बिक्री वितरण गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले उक्त ऐनको दफा ५ तथा ‘पशु बधशाला र मासु जाँच नियमावली, २०५७’ को नियम ५ र ८ बमोजिम तोकिएका मापदण्डहरू पूरा गर्नुपर्नेछ ।
सोही मापदण्डका आधारमा व्यवसायीहरूले २०८३ मंसिर १ गतेभित्र औपचारिक रूपमा इजाजतपत्र प्राप्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
तोकिएको समयसीमाभित्र इजाजतपत्र नलिई वा नियम विपरीत मासु पसल सञ्चालन तथा मासु बिक्री वितरण गरेको पाइएमा कडा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ ।
ऐनको दफा १७ को उपदफा (२) बमोजिम अनुमतिबिना व्यवसाय सञ्चालन गरेमा १० हजारदेखि २० हजारसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ ।
