राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक विपन्न महिलाले अस्पताल अगाडिको फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले बुधबार बिहान करिब साढे २ बजे अस्पताल परिसर बाहिरै छोरालाई जन्म दिएकी हुन् । अस्पतालले आवश्यक स्वास्थ्य परीक्षणका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताए पनि आफूसँग पैसा नभएका कारण जाँच गराउन नसकेको र त्यसपछि भर्ना नलिएको बबिताको दाबी छ ।
मंगलबार राति करिब डेढ बजे प्रसव पीडा सुरु भएपछि बबिता श्रीमान् हरेराम पासवान र दुई जना आफन्त महिलासहित सिटी रिक्सामा अस्पताल पुगेकी थिइन् । अस्पतालको प्रसूति विभागमा पुगेपछि स्टाफ नर्सले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गराउनुपर्ने बताएको बबिताले सुनाइन् ।
आफू विपन्न परिवारको भएको र तत्काल पैसा नभएको भन्दै बबिताले बिहान भएपछि आवश्यक जाँच गराउने बताउँदै भर्ना लिन आग्रह गरेकी थिइन् । तर, जाँच नगरी प्रसूति गराउन नमिल्ने भन्दै आफूलाई बाहिर पठाइएको उनको आरोप छ ।
‘मैले भनेँ– दिदी, यसअघि मेरा तीन बच्चा हुँदा कुनै जाँच गराएको थिइनँ । तर उहाँले रगत र अल्ट्रासाउन्डको २५ सय रुपैयाँ लाग्ने बताउनुभयो । मसँग पैसा थिएन,’ बबिताले भनिन्, ‘बिहान भएपछि अल्ट्रासाउन्ड गराउँछु, जाँच गराउँछु, भर्ना गरिदिनुस् भनेर आग्रह गरेँ । तर जाँचविना कुनै हालतमा भर्ना नलिने भन्दै हप्काएर निकालिदिनुभयो ।’
अस्पतालबाट बाहिरिएपछि बबिता परिवारसहित अस्पताल अगाडिको एक औषधि पसलमा पुगिन् । उनले औषधि पसलेसँग चिकित्सक बोलाएर जाँच गराइदिन आग्रह गरिन् । औषधि पसलेले बिहान चिकित्सक आएपछि जाँच गराइदिने भन्दै त्यहीँ बस्न भनेको बबिताले बताइन् ।
केहीबेरपछि प्रसव पीडा बढेपछि उनी फुटपाथमै छट्पटाउन थालिन् । आफूसँगै गएका आफन्त महिलाले उनको स्याहार गरिरहेका बेला बबिताले त्यहीँ छोरालाई जन्म दिइन् ।
बच्चा जन्मिएपछि परिवारले सालनालसहित शिशुलाई लिएर पुनः अस्पताल पुगेको थियो । तर त्यतिबेला पनि आफूलाई भर्ना नगरिएको बबिताको दाबी छ ।
‘मसँगै जानुभएकी सासु पर्ने महिलाले खाली बेडमा सुत, जे हुन्छ हुन्छ भन्नुभयो । म सुत्न खोजेँ । तर पनि ती स्वास्थ्यकर्मी दिदीले यहाँबाट भाग, नभए धक्का दिएर निकालिदिन्छु भनेर धम्क्याउनुभयो,’ उनले भनिन्, ‘त्यसपछि हामी बाध्य भएर घर फर्कियौँ ।’
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारी अस्पतालमा विपन्न सुत्केरी महिलामाथि भएको व्यवहारलाई लिएर चर्को आलोचना भइरहेको छ । दोषीमाथि कारबाही गर्नुपर्ने मागसमेत उठेको छ ।
तर अस्पतालका फ्रि हेल्थ सर्भिसका फोकल पर्सन मनोज देवले भने बबिता राति करिब २ बजे अस्पताल आएको र २४ नम्बर बेडमा भर्ना भएको दाबी गरेका छन् ।
उनका अनुसार प्रारम्भिक जाँचपछि गर्भावस्थामा गराउनुपर्ने स्वास्थ्य परीक्षण नगराएको पाइएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले उनलाई आवश्यक परीक्षणका लागि प्रयोगशालामा पठाएका थिए । तर उनीहरू प्रयोगशालाबाटै बाहिरिएको देवको दाबी छ ।
‘उहाँ राति २ बजे आएपछि पीपी चेक गर्ने काम भयो । त्यसपछि गर्भवती अवस्थामा उहाँले गराउनुपर्ने कुनै चेकजाँच नगराएको पाइयो । आवश्यक स्वास्थ्य परीक्षणका लागि चिकित्सक र स्वास्थ्यकर्मीले ल्याबमा पठाउनुभयो,’ देवले भने, ‘उहाँहरू ल्याबमा गएर त्यतैबाट निस्किनुभयो । बिहान ५ बजे शिशु जन्मेपछि अस्पतालमा मात्र आउनुभयो । यहीं सालनाल काटेर पठाउने काम भयो ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले भने आफूले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्रै घटनाबारे जानकारी पाएको बताएका छन् । उनका अनुसार बबिता बच्चा जन्माइसकेपछि बिहान करिब ४ बजे अस्पताल आएको जानकारी आफूलाई प्राप्त भएको छ ।
मेसु झाले घटनाबारे छानबिन गर्न समिति गठन गर्ने बताएका छन् । आफू हाल काठमाडौंमा रहेको भन्दै उनले अस्पतालमा भएको घटनाको वास्तविकता छानबिनपछि मात्रै स्पष्ट हुने बताए ।
सरकारी तथा निजी अस्पतालले विपन्न र गरिब बिरामीका लागि निश्चित प्रतिशत शय्या छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । यस्तो व्यवस्था कार्यान्वयनको जिम्मेवारी बोकेको सरकारी अस्पतालअगाडि नै प्रसव पीडामा रहेकी महिलाले फुटपाथमा बच्चा जन्माउनुपर्ने अवस्था आएपछि स्वास्थ्य सेवामा पहुँच र विपन्न नागरिकको अधिकारमाथि गम्भीर प्रश्न उठेको छ ।
