विदेश भ्रमणको विवरण अब नागरिक एपबाटै लिन सकिने

नेपाली नागरिकले आफ्नो विदेश भ्रमणसम्बन्धी विवरण अब नागरिक एपबाटै प्राप्त गर्न सक्ने भएका छन्। अध्यागमन विभागले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यागमन सेवालाई थप सुरक्षित, व्यवस्

विदेश भ्रमणको विवरण अब नागरिक एपबाटै लिन सकिने

नेपाली नागरिकले आफ्नो विदेश भ्रमणसम्बन्धी विवरण अब नागरिक एपबाटै प्राप्त गर्न सक्ने भएका छन्। अध्यागमन विभागले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यागमन सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन भ्रमण विवरणलाई नागरिक एपमा आबद्ध गरिएको जनाएको छ।

नयाँ व्यवस्था लागू भएसँगै विदेश भ्रमणको विवरण लिन सेवाग्राही अध्यागमन विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन।

यसअघि भ्रमण विवरणका लागि विभागमा पुगेर निवेदन पेस गर्नुपर्थ्यो। अब सेवाग्राहीले नागरिक एपबाट आवश्यक विवरण प्राप्त गर्न सक्ने विभागले जनाएको छ।

यसबाट कागजी निवेदन, कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता र सेवा प्राप्तिका क्रममा हुने प्रक्रियागत झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ।

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार पुरानो प्रक्रियाबाट विवरण लिँदा सेवाग्राहीले समयमै सेवा नपाउने र अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था थियो।

भौतिक निवेदन दर्ता र अभिलेख प्रमाणीकरणका कारण विभागको कार्यबोझसमेत बढ्दै गएको थियो। नागरिक एपमा सेवा उपलब्ध भएपछि सेवाग्राहीको समय र लागत बचत हुनुका साथै विभागको कार्यबोझ पनि घट्ने उनले बताए।

नागरिक एपमा सम्बन्धित व्यक्तिको राहदानीसँग आबद्ध विवरण मात्र देखिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

प्रयोगकर्ताको पहिचान र राहदानी विवरणका आधारमा भ्रमण अभिलेख उपलब्ध हुने भएकाले व्यक्तिगत विवरण सुरक्षित रहने विभागको दाबी छ।

नागरिक एपबाट प्राप्त अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरणलाई आधिकारिक अभिलेखका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ।

विभिन्न व्यक्ति तथा संघ-संस्थाले आवश्यक प्रयोजनका लागि नागरिक एपबाट प्राप्त विवरणलाई आधिकारिक स्रोतका रूपमा स्वीकार गर्न सक्ने प्रवक्ता ढकालले बताए।